काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण भोलि ११ः०० बजेसम्मका लागि स्थगित भएको छ ।
आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सांसदहरुले उठेर प्रधानमन्त्रीको राजीनामा माग गर्दै अवरोध गर्नुभएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरूलाई बैठक सुचारु गरी सदनको काम कारबाही अगाडि बढाउन सहयोग गर्न पटक पटक आग्रह गर्नुभए पनि एमालेका सांसदहरुले विरोध कायमै राखेपछि आजको बैठक सोमबार सम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सार्वजनिक कार्यक्रममा बोल्नुभएको विषयलाई लिएर उहाँको राजीनामाको माग गर्दै एमालेका सांसदहरुले निरन्तर सदन अवरुद्ध गर्दै आइरहनुभएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरूमा छलफल गर्ने कार्यसूची रहेको थियो । राष्ट्रिय सभाको अर्को बैठक भोली सोमबार ११ बजे बस्ने छ ।