काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आजदेखि समसामयिक राजनीतिक आर्थिक सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा प्रदेशका प्रदेश सभापतिसहित केही केन्द्रीय सदस्यहरुले धारणा राख्नुभएको छ । बैठकमा बोल्दै प्रदेश सभापतिहरूले प्रदेश समितिको भूमिकालाई प्रभावकारी बनाउने गरी केन्द्रीय समितिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश समिति पार्टीको एउटा महत्त्वपूर्ण अङ्गका रुपमा रहे पनि हाल व्यवहारिकतामा त्यस्तो नदेखिएको गुनासो गर्नुभयो ।
यस्तै, पार्टीका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले पनि प्रदेश समितिले गरेका काममा केन्द्रीय समितिले विशेष हस्तक्षेप गर्ने हुँदा प्रदेश समितिको औचित्य नै सङ्कटमा परेको आरोप लगाउनुभयो ।
यस्तै, मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले आम निर्वाचनका बेला गठबन्धनमा सिट बाँडफाँट र बजेट विनियोजनमा मधेसलाई उपेक्षा गरिएको धारणा राख्नुभयो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी महामन्त्री गगन थापाको वार्षिक कार्यक्रममाथि नै प्रश्न उठाउँदै त्यस कार्यक्रममा प्रदेश कार्यसमितिलाई जोड्ने काम नभएको बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश आवश्यक छैन भने काँग्रेसले नै मुलुकमा स्थानीय तह र केन्द्र मात्र हुन्छ भनेर नेतृत्व गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेशलाई समेट्न नसके महामन्त्री थापाले प्रस्तुत गरेको वार्षिक कार्यक्रम कार्यान्वयनमा अवरोध आउन सक्ने बताउनुभयो ।
यस्तै, केन्द्रीय समितिको आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीलाई बलियो बनाउन पार्टी भित्रको अन्तर्विरोध र गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीको विधान अनुसार समयमा केन्द्रीय समितिको बैठक बस्न नसक्दा आफूहरू भूमिका र जिम्मेवारी विहीन हुन पुगेको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले बताउनुभयो ।
यस्तै, केन्द्रीय सदस्यहरुले सबैभन्दा ठूलो दलका रुपमा जनताले नेपाली काँग्रेसलाई पठाएको र सङ्घसहित सबै प्रदेश सरकारमा पार्टीको सहभागिता रहेकाले पार्टीको घोषणापत्र अनुसारका जनचाहनालाई पुरा गर्ने गरी कार्यसम्पादन गर्नेतर्फ विशेष ध्यान जानुपर्नेमा पनि जोड दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरूको बोल्ने क्रम जारी छ । नेपाली काँग्रेस केन्द्रीय समितिको अर्को बैठक भोली बिहान ११ः०० बजे पुनः बस्ने छ ।