काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको तेस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।
आजको बैठकमा पनि समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
मङ्गलवारदेखि शुरु भएको बैठकमा छलफलका लागि महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको पार्टीका १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेश गर्नुभएको वार्षिक कार्य योजनाका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ ।
बैठकमा संसद्मा पार्टीको गतिविधि, विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, केन्द्रीय अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन लगायतका कार्यसूचीमाथि छलफल भइरहेको छ ।