बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ । नेकपा एमाले केन्द्रीय कमिटिका सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बुटवलमा भएको प्रदेश कमिटीको सचिवालय बैठकले अधिबेशनको मिति तय गरेको हो ।
पार्टीका प्रदेश समिति अध्यक्ष राधाकृष्ण कंडेलले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले साउन १३ र १४ गते नेपालगन्जमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । यस्तै पार्टीको नियमित प्रशिक्षणका लागि स्कुल संचालन गर्न साउन २२ गतेदेखि २५ गतेसम्म प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको अध्यक्ष कंडेलले बताउनुभयो । बैठकले अधिबेशनको तयारीक लागि विभिन्न उपसमितीहरु गठन गरेको छ ।
बैठकमा प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, १२ वटै जिल्लाका अध्यक्ष तथा इन्चार्जहरु सहभागी हुनुभएको थियो ।