काठमाडौँ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको आज बसेको पाँचौँ दिनको बैठकमा सहमहामन्त्री र केन्द्रीय सदस्यहरु गरी २५ जनाले आ–आफ्नो धारणा राख्नुभएको छ ।
यस्तै बैठकमा नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी विभिन्न मन्त्रीहरूले पनि आ–आफ्ना मन्त्रालय अन्तर्गतका कामहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा बोल्नुहुँदै सहमहामन्त्री तथा केन्द्रिय सदस्यहरुले पार्टीबाट भएका कमी-कमजोरीको मूल्याङ्कन गर्दै पार्टीलाई नयाँ ऊर्जाका साथ अगाडी बढाउने कार्य नीति बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा सहमहामन्त्री र केन्द्रिय सदस्यहरुले भातृ संस्था र जनसम्पर्क समितिहरूलाई पूर्णता दिनुपर्ने, साङ्गठनिक गतिविधिलाई बढावा दिनुपर्ने र दलित समुदायको योगदानलाई उच्च कदर गर्दै अवसर दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले वर्तमान गठबन्धनलाई पाँच वर्षसम्म जोगाएर लगे मात्र स्थिर परिणाम सकारात्मक आउने भएकाले त्यसलाई बिग्रिन नदिने गरी ठूलो पार्टीका नाताले काँग्रेस अझ बढी जिम्मेवारीका साथ लाग्नुपर्ने बताउनुभयो ।
मुलुकका हरेक राजनीतिक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको र वर्तमान समयमा देशको सङ्घसँगै प्रदेश सरकारहरूमा सहभागिताको अवसर पनि काँग्रेसलाई प्राप्त भएकाले समृद्ध नेपालको निर्माणलाई मूल ध्येयका रुपमा लिएर नेतृत्वले काम गर्नुपर्ने धारणा पनि आज बोल्नुहुने सहमहामन्त्री र केन्द्रिय सदस्यहरुले राख्नुभयो ।
केन्द्रिय समितिको आजकै बैठकमा कांग्रेसका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयबाट हालसम्म भए गरेका कार्य प्रगति विवरण पेश गर्नुभयो ।
आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आ–आफ्ना मन्त्रालय अन्तर्गतका कार्य प्रगति विवरण पेश गर्नुभयो ।
सदस्यहरुले बोल्ने क्रम जारी रहेकाले नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको अर्को बैठक भोलि दिउँसो ३ बजे पुनः बस्नेछ ।