काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक साताको लागि स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले एक सूचना जारी गरी प्रतिनिधिसभाको आजको बैठक विशेष कारणले स्थगित भएको जानकारी दिएको छ । प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते सोमवार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको.छ ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको सुन तस्करी प्रकरणलाई लिएर साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतको दलले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेका थिए । त्यसयता संसद् चल्न सकेको छैन ।
यता नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन गर्नुपर्ने माग पार्टीको रहेपनि संसद् स्थगित एमालेको कारणले नभएको बताउनुभयो ।
साउन १० गते यता संसद् सुचारु गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न समयमा छलफल भएपनि सहमति जुट्न सकेको छैन ।