काठमाडौँ । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि प्रस्तावित छ जना राजदूतमध्ये तीन जनासँगको सुनुवाई सकेको छ ।
समितिले आज न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ, नेपालको स्थायी नियोगका लागि सिफारिस लोकबहादुर थापा, स्वीजरल्याण्डका लागि आवासीय राजदूतमा सिफारिस रामप्रसाद सुवेदी र फ्रान्सका लागि राजदूतमा सिफारिस सुधिर भट्टराईको सुनुवाई सकेको हो ।
सुनुवाईका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ, नेपालको स्थायी नियोगका लागि सिफारिस लोकबहादुर थापाले दुई देशबीचको आर्थिक कूटनीतिलाई जोड दिएर अगाडी बढ्ने बताउनुभयो । उहाँले नेपालका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने र न्युयोर्कमा रहेका नेपालीहरूको सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यसैगरी स्वीट्जरल्याणका लागि सिफारिस हुनुभएका रामप्रसाद सुवेदीले संविधान कानुन र नेपालको प्रतिबद्धता अनुसार आफूले काम गर्ने बताउनुभयो । उहाँले मानव अधिकारका क्षेत्रमा नेपालका सफल उदाहरणहरू प्रस्तुत गर्ने, अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरणको भूमिका निर्वाह गर्ने, श्रमिकको सुरक्षा र सामाजिक न्याय कायम गर्न लागि पर्ने बताउनुभयो ।
यस्तै, फ्रान्सका लागि राजदूतमा सिफारिस हुनुभएका सुधिर भट्टराईले दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तार गर्दै सहयोग आदान प्रदानका लागि काम गर्ने बताउनुभयो । उहाँले श्रमिकको सुरक्षा तथा देशका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आफूले पहल गर्ने प्रतिबद्धता सुनुवाईका क्रममा व्यक्त गर्नुभयो ।
यसअघि, बैठकको सुरुमा समितिले राजदूत सिफारिसका सम्बन्धमा उठेको समावेशिताको विषयमा परराष्ट्र मन्त्री एनपी साउदसँग छलफल गरेको थियो ।
छलफलका क्रममा मन्त्री साउदले राजदूत पदमा ५० प्रतिशत नघट्ने गरी परराष्ट्र सेवाका कर्मचारीलाई नियुक्त गर्नुपर्ने निर्देशिकाको प्रावधान पालना गर्दै अहिले राजदूत सिफारिस गरेको स्पष्ट पार्नुभयो ।
मन्त्री साउदले राजदूत सिफारिस निर्देशिका, योग्यता क्रम सबै हेरेर ५० प्रतिशत परराष्ट्र सेवाबाट नियुक्त गर्नुपर्ने व्यवस्था अनुसार सिफारिस गरिएको बताउनुभयो ।
उहाँले सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको र यो नियुक्तिमा पनि पूर्ण रुपमा पालना गरेको बताउनुभयो ।
मन्त्री साउदले विभिन्न देश र नियोगमा गरेर नेपालले ३३ जना राजदूत नियुक्त गर्ने र २६ देशमा राजदूत रहेको, ६ देशका लागि सिफारिस गरिएको र १ देशमा बाँकी रहेको जानकारी दिँदै समग्रमा राजदूत नियुक्ति समावेशी रहेको पनि बताउनुभयो ।
बैठकमा सांसदहरुले राजदूत सिफारिस समावेशिताको सिद्धान्त अनुसार हुन नसकेको, हरेक पटकको नियुक्ति समावेशी हुनुपर्ने, नियुक्तिमा संविधानको मर्म आत्मसाथ हुन नसकेको, राजदूत नियुक्ति राजनीतिक भागबन्डाको विषय बन्नु नहुने लगायतका विषय उठाउनुभएको थियो ।
सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा सहसचिव लोकबहादुर थापा, स्वीजरल्याण्डका लागि आवासीय राजदूतमा सहसचिव रामप्रसाद सुवेदी, सहसचिव सुधीर भट्टराईलाई फ्रान्स र सहसचिव घनश्याम लम्साललाई कुवेत, सहसचिव तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स र धनबहादुर वली थाइल्यान्डका लागि राजदूत पदमा सिफारिस गरेको थियो ।
विभिन्न ६ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका बाँकी तीन जनासँग सुनुवाई भोली हुने छ ।