काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बिहान ११ बजेबाट शुरु हुँदैछ ।
बुधबार(हिजो)को बैठकमा केन्द्रीय समितिका ३८५ जना सदस्य, वैकल्पिक केन्द्रीय सदस्य १९६ जना, पार्टीले गरेको १० प्रदेशका पदाधिकारी ९० जना, तीन वटा आयोग (अनुशासन, लेखा र निर्वाचन) का ४१ जना सदस्यहरू सहभागी भएका थिए ।
बुधबारको बैठकमा केन्द्रीय समितिको आकार ३८५ बाट बढाएर ४०९ जना बनाउने प्रस्ताव गरिएको छ। समावेशिताका अनुसार २४ जना महिला सदस्य थपेर ४०९ पुर्याउने प्रस्ताव गरिएको हो।
समितिको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग पार्टी’ अभियान पनि प्रस्तुत गर्नुभएको थियो। पार्टी सुदृढीकरण अभियान भनिएको यस अभियान हरेक वडासम्म पुग्नेछ। भदौ, असोज र कात्तिक महिनाभर अभियान चल्नेछ।
प्रचण्डले पार्टी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई ३२ विभागको जिम्मेवारी, महासचिव र उपमहासचिवलाई जनवर्गीय संगठनको जिम्मेवारी र सचिवहरूलाई प्रदेशको समन्वयको जिम्मेवारी दिने प्रस्ताव पनि प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा हालसम्म १७ जनाले आ–आफनो धारणा राखिसकेका छन् ।