काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक काठमाडौँको कमलादीमा जारी छ
बुधबारदेखि काठमाडौँमा चलिरहेको नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि केन्द्रिय सदस्यहरुले धारणा राखिरहनुभएको छ । बुधबार १८ जना र आज (बिहीबार) ५६ केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभयो । भोलि शुक्रबार पनि सदस्यहरु आफ्नो धारणा राख्नेक्रम जारी रहने छ ।
पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि आफ्ना धारणा राख्दै केन्द्रिय सदस्यहरुले पार्टीलाई सुदृढ र बलियो बनाउन नेतृत्व पुनः जनतातर्फ फर्किनुपर्नेमा जोड दिनुभएको छ ।
बैठकमा सहभागी केन्द्रिय सदस्य कृष्णध्वज खड्काले बैठकमा पार्टी अध्यक्षको राजनीतिक तथा सांगठानिक प्रस्ताव कार्यान्वयन गर्न र पार्टी जनतातर्फ फर्कनुपर्नेमा सदस्यहरुले जोड दिनुभएको जानकारी दिनुभयो ।
केन्द्रिय सदस्य बलावती शर्माले माओवादी पार्टी राजनीतिक तथा सांगठानिक दृष्टिकोणले बलियो भए पनि नीति र विधान कार्यान्वयनमा कमजोर रहेकाले यो बैठकले नीति कार्यान्वयनलाई जोड दिने बताउनुभयो ।
अर्का केन्द्रिय सदस्य युवराज दुलालले माओवादी केन्द्र सुशासन, विकास र समृद्धिको नेतृत्व गर्न आइपुगेको स्पष्ट पार्दै केन्द्रिय कमिटी बैठकले अब पार्टी विधि विधान र नेता नेतृत्वलाई पारदर्शी बनाउन जोड दिने बताउनुभयो ।
केन्द्रिय सदस्य रञ्जित तामाङले माओवादी नेतृत्वको सरकार र माओवादीप्रति जनताको आशा जागृत हुँदै गएकाले केन्द्रिय कमिटी बैठकले जनतालाई थप विश्वस्त पार्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहनुभएका केन्द्रिय सदस्य सुदन किरातीले दलहरूमाथि नागरिकमा शङ्का बढेको भन्दै बैठक यस्ता समस्या समाधानको प्रारम्भिक बिन्दु बन्ने धारणा राख्नुभयो ।
बुधबारदेखि सुरु माओवादी केन्द्रिय कमिटी बैठक साउन २१ गतेसम्म चल्नेछ । आशा गरौँ ५ दिनसम्म नेतृत्वबीच हुने घनिभूत छलफलले माओवादीले भनेझैँ जनताको अवस्था बदल्ने नीति र कार्यक्रम तय गर्नेछ ।