काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा आज पनि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।
पूर्व निर्धारित समय अनुसार नै बिहान ११ बजेदेखि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पूर्ण बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं साङ्गठनिक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहनुभएको छ ।
बैठकमा पहिलो र दोस्रो दिन वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरासहित ७४ जना केन्द्रीय सदस्यले अध्यक्षको प्रस्तावमाथि आ–आफ्नो धारणा राख्नुभएको छ । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ ।
हिजोको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित जनप्रिय काम गरिरहेको, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको धारणा राख्नु भएको छ ।
धारणा राख्ने क्रममा केन्द्रिय सदस्यहरुले पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुनर्निर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्ने, पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिङ्गो पार्टी एकताबद्ध बनाउने सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा सहभागीहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।