बुटवल । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाउने गरी अगाडि बढेको बताउनु भएको छ ।
उहाँले पहिलो पटक पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गरेर संघीयता कार्यान्वयनमा सहजता ल्याएको बताउँदै यसरी सबै तहका पार्टी कमिटीलाई नयाँ नेतृत्व दिने बताउनुभयो । भदौ १६ र १७ गते बुटवलमा हुने अधिवेशनका सन्दर्भमा पत्रकारहरुसँग कुरा गर्दै अर्यालले अहिलेसम्म यो विधिबाट कुनै पार्टी र एमाले स्वयंले अधिवेशन नगरेकाले संघीयता कार्यान्वयनको सन्देश लुम्बिनीबाटै दिन थालेको बताउनु भएको हो ।
आफूले प्रदेशको जिम्मेवारी लिएर आएपछि सबै जिल्ला कमिटीका बैठकहरुलाई चलायमान बनाएको, सबै जिल्लाबाट सदस्यता नवीकरण अधावधिक गरेर पाएको र अधिवेशन पनि पहिले नै गरेर नयाँ सन्देश दिन थालेको अर्यालले बताउनुभयो ।
एमालेविरुद्ध चौतर्फी घेराबन्दी हुँदा पनि सतिसालजस्तै उभिएका पार्टी सदस्यको सम्मान गर्न सबै तहका कमिटीलाई चलायमान बनाउँदै नागरिकसँग जोडिएका सामाजिक कार्यामा जोड्ने गरी अभियान थालिएको उहाँको भनाइ छ । ‘प्रदेश अधिवेशनबाट सकेसम्म सहमतिमै नयाँ नेतृत्व छनौट गर्ने, नभए लोकतान्त्रिक विधि खोजिने बताउँदै उहाँले एमाले विधिमा चल्ने पार्टी हो भनेर आम कार्यकर्ता र शुभेच्छुकहरुले महसुस गराउनेगरी जिम्मेवारीमा खटिएको अर्यालले बताउनुभयो ।
पछिल्लो पटक धेरै कार्यकर्ता र शुभेच्छुककको चिन्ता नेतृत्वले समय नदिएको, पार्टी कमिटी चलायमान नभएको, जिम्मेवारी लिएर बसेका व्यक्तिहरुले व्यवास्था गरेको, निर्वाचनका बेलामात्र आफूहरुलाई प्रयोग गरेका धेरै गुनासा आएका छन्, ती विषयलाई मध्यनजर गर्दै हरेक कमिटीलाई नागरिकसँग जोडिने अभियान थालेका छौं, प्रदेश अधिवेशनको प्रतिनिधि छनौटलाई पनि त्यसरी नै ध्यान दिएका छौँ,’ उहाँले भन्नुभयो ।
उहाँले प्रदेश कमिटीको प्रतिनिधिमा समावेशी सहभागिता र युवा सहभागितालाई विशेष ध्यान दिएको बताउँदै बुटवलको अधिवेशनबाट नयाँ सन्देश दिनेगरी योजना बनाएको बताउनुभयो ।
अधिवेशनको सन्दर्भमा आइतबार तयारी बैठक बसेको छ । बैठकमा प्रदेश इन्चार्ज अर्यालले यो अधिवेशन सातै प्रदेशमध्ये पहिलोपटक हुन लागेको र देश संघीयतामा गइसकेपछि एमालेले पार्टीलाई संविधान अनुकुल बनाउने अभियानका रूपमा अधिवेशनलाई लिएको बताउनुभयो ।
उहाँले प्रदेश र जिल्ला पार्टी नेतृत्वमा रहेका सबैलाई पार्टीको यो अभियानलाई बुझ्न र तदनुसारको सक्रियता प्रदर्शन गर्न निर्देशन दिँदै यसको भव्यताले पार्टी चलायमान हुन पनि सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा पार्टी अध्यक्ष राधाकृष्ण कँडेलले अधिवेशनको तयारीका सन्दर्भमा आजसम्म भए गरेका कामको जनकारी गराउनु भएको थियो ।
व्यवस्थापनका हिसाबले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, कपिलवस्तुका अध्यक्ष डम्बर शर्मा र नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीले अधिवेशनको तयारीका सन्दर्भमा जिल्लास्तरमा हुने अफ्ठेरा, सहजता, चुनौती तथा भए गरेका काम खासगरी जनपरिचालनका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशन तयारीका लागि तीनै जिल्लालाई स्थानीय आयोजक मानिएको छ । बैठकमा पोलिटब्युरो सदस्य लीला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बलाराम अधिकारी, नेताहरु गिरिधारीलाल न्यौपाने र यस क्षेत्रमा रहेका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र तीनै जिल्लाका पार्टी पदाधिकारीसमेतको सहभागिता रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।
अधिवेशनको लोगो सार्वजनिक
प्रदेश अधिवेशनको लागि तयारी गरिएको लोगो एमाले पोलिब्युरो सदस्य तथा प्रेस चौतारी विभाग प्रमुख सूर्य थापाले सार्वजनिक गगर्नुभएको छ । अधिवेशन तयारीकै शिलशिलामा प्रदेशको प्रचार विभाग, सबै जिल्लाका प्रचार विभाग प्रमुख, प्रेस चौतारीको नेतृत्वसहित बसेर थापाले लोगो सार्वजनिक गर्दै प्रचार विभागले गर्ने कामबारे निर्देशन दिनुभएको थियो । प्रचार विभाग प्रमुख डिआर घिमिरेले सबै जिल्लाबाट सहभागी भएको त्यो भेलाले अधिवेशन तयारीका सन्दर्भमा छलफल गर्नुका साथै प्रचारका थप योजना तयार गरेको र विभागले सञ्चालन गर्ने सञ्चार माध्यमका विषयमा तयारी गरेको बताउनुभयो ।