बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश बुटवलमा हुने प्रथम अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । यहीँ भदौ १६ र १७ गते अधिवेशनका लागि प्रदेशमा रहेका १०९ वटै पालिकामा र सबै जनसंगठनबाट गरी एकहजार ४ जना प्रतिनिधि सर्वसम्मतरुपमा छनोट गरिएको हो ।
रुपन्देहीका बुटवल, तिलोत्तमालगायत १६ वटै पालिकाबाट सर्वसम्मत प्रतिनिधिहरु छानिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिनुभयो । बुटवल उपमहानगरका १९ वटा वडाबाट खुलातर्फ ३२ जना प्रतिनिधि प्रदेश अधिवेशनका लागि छानिएका छन् । त्यस्तै महिलातर्फ १५ जना र दलिततर्फ ४ जना प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै तिलोत्तमा नगरपालिकाबाट खुलातर्फ २० जना, महिलातर्फ ९ जना र दलिततर्फ एकजना गरी ३० जना प्रतिनिधि छानिएको एमाले नगर कमिटीले जानकारी दिएको छ । सिद्धार्थनगर नगरपालिकाबाट खुलातर्फ ५ जना, महिलातर्फ २ जना, दलिततर्फ एकजना र पेशागततर्फ २ जना प्रतिनिधि छानिएका छन् । त्यस्तै देवदह नगरपालिकाबाट खुलातर्फ ६ जना, महिलातर्फ ३ जना र दलिततर्फ २ जना प्रतिनिधि छानिएका छन् ।
आकांक्षी धेरै भएपनि सबै ठाउँमा सर्वसम्मत प्रतिनिधि चयन भएको घिमिरेले जानकारी दिनुभयो । ‘यो नेतृत्वप्रतिको विश्वास पनि हो, यसपल्ट अधिकांश युवा पनि प्रतिनिधिको रुपमा छानिएका छन्, यसले पार्टीलाई नयाँ गति दिने आशा गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । एमालेले यो पटकदेखि सबै सहभागी प्रतिनिधिलाई भूगोलबाट नै अनिवार्यरुपमा निर्वाचित भएर आउनुपर्ने विधि तय गरेकाले र सबै क्षेत्रमा एकैपटक प्रतिनिधि छान्ने समय तोकेकाले पनि सबैलाई आफ्नो भूगोलमा केन्द्रित गरेर प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो । अधिवेशन बुटवल–१० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु आउने निश्चित भइसकेको छ ।
प्रदेश कमिटी सदस्य मोहन चापागाईंले प्रादेशिक संरचनामा हुन लागेको पहिलो अधिवेशन भएकाले पनि नमुना ढंगले अधिवेशन पूरा गर्नुपर्ने र सबैको चासो बढेको बताउनुभयो । उहाँले अधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था गरिएपनि होटलको व्यवस्थापन आफैँले गर्नुपर्ने नियम बनाइएको बताउनुभयो ।
अधिवेशनको सन्दर्भमा प्रचार विभागले सम्पादकहरुसँग मिडियामार्फत सहयोगको लागि अन्तक्र्रिया गर्ने, १४ गते पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी दिने, उद्घाटनको दिन पार्टीको वेभसाइटसहित न्यूज पोर्टल लुम्बिनी सन्देश डट कमको सार्वजनिक गर्ने, वेभसाइटका लागि तयारी गर्ने प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिनुभयो ।