बुटवल । नेकपा (एमाले) को प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा सुरु हुँदै छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिबेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । अधिवेशन उद्घाटन समारोहमा पार्टीका शिर्ष नेताहरु पनि सहभागी हुनुहुने छ ।
उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा पार्टी सचिव एवं प्रदेश इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने एमाले लुम्बिनी प्रदेशका अध्यक्ष तथा अधिवेशन प्रतिनिधि राधाकृष्ण कंडेलले जानकारी दिनुभयो ।
दुई दिन सम्म चल्ने अधिबेशनमा सहभागी हुन प्रदेशका १२ जिल्लाकै प्रतिनिधीहरु बुटवल आउँदै छन् । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । मुलुक संघीयतामा गएपछि पहिलो पटक हुन लागेको अधिबेशनलाई भव्य बनाउन बुटवलमा विशेष तयारी गरिएको छ ।
यो वर्षलाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले यस लगत्तै अन्य प्रदेशहरुमा पनि अधिवेशन गर्ने तयारी गरेको छ ।
सम्मेलन पूर्व विहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहादेखि सम्मेलनस्थलसम्म झाँकी सहित र्याली निकाल्ने तयारी छ ।
सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी एक हजार चार जना प्रतिनिधि सहभागी हुने एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो । अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।