बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश अध्यक्षमा निवर्तमान अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । रिजालले वारेसनामार्फत उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटी सदस्य भरत पोखरेलले जानकारी दिनुभयो ।
सहमतिमा नेतृत्व चयनका लागि भएका प्रयास विफल भएपछि अध्यक्षका प्रत्यासीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट ९२१ र जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार उद्घाटन गर्नुभएको थियो । ओलीले सहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिए पनि प्रथम प्रदेश अधिवेशनमा सहमति जुट्न नसकेको हो ।
