बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हरि रिजालको संगठित सदस्यतामा विवाद उत्पन्न भएको छ ।
रिजाल प्यूठानको नौ बहिनी गाउँपालिका–६ बाट प्रतिनिधि भएर अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । तर रिजालको पार्टी सदस्यता लुम्बिनी प्रदेशमा नै नरहेको भन्दै अधिवेशन प्रतिनिधि राजुप्रसाद श्रेष्ठले उजुरी दिनुभएको हो । उहाँको उजुरी निर्वाचन समितिले दर्ता गरेको छ । जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै चुनाव लड्ने तयारी गरेका रिजालले काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उहाँको प्रतिनिधित्व अवैध भएको र उम्मेदवारी स्वतः खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ ।
रिजालको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा नरहेको एमाले प्रदेश कार्यालयले जनाएको छ । निर्वाचन मण्डलले भने रिजालविरुद्ध परेको उजुरी दर्ता गरिनसकेको तर यसबारे ध्यानाकर्षण भई पार्टी केन्द्रीय कार्यालयसँग के गर्ने भन्ने विषयमा कुराकानी भएको निर्वाचन समितिका एक सदस्यले बताउनुभयो ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु हुनुभएको छ ।
अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट हुनुभएको छ । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचारप्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो।