बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । बिहान पौने ९ बजदेखि सुरू भएको मतदान साढे २ बजे सकिएको हो । १ हजार ४ जना प्रतिनिधि रहेको मतदानमा ९६५ मत खसेको निर्वाचन समितिले जनाएको छ । ३९ मत खस्न सकेन ।
अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल (आर.के.) र प्यूठानका हरि रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । १६ गतेदेखि सुरु भएको पहिलो लुम्बिनी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहानबाट मतदान सुरू गरिएको हो ।
उपाध्यक्षमा पुजन विश्वकर्मा (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही) विश्वास बराल (रुपन्देही), शान्तिकुमारी वली (रोल्पा) रहनुभएको छ । त्यस्तैगरी दुई जना उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ ।
उपेन्द्रलाल कार्मी (रुकुमपूर्व) दुर्गाप्रसाद थारु चौधरी (बाँके) पूर्ण बुढामगर रोल्पा, हिरा एसी (गुल्मी), आरती पौडेल (बाँके), लिला राना मगर (बर्दिया र बसन्ती आचार्य (बाँके) रहनुभएको छ । ५ जना पदाधिकारी सहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिस्पर्धामा हुनुहुन्छ । उम्मेदवारहरुसँग छलफल गरेपछि मतगणना सुरु गर्ने निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिनुभयो ।
यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले मंगलबार बिहानका लागि सारिएको थियो ।