गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताउनुभयो । उहाँले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको स्मरण गर्नुभयो ।
‘अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ’, उहाँले भन्नुभयो, ‘गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन ।’ नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठीक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उहाँको भनाइ छ ।
गुल्मीको सदरमुकाम तम्घासस्थित चिदिचौरमा भएको कार्यक्रममा नेता थापाले जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम व्यवस्था रहेको बताउनुभयो । देशमा थुप्रै कमीकमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने भन्दै उहाँले अन्य विकल्प खोज्न नपर्ने बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले आफू दुर्घटना परेको घटना पहिलोपटक जिल्लाबासीलाई सुनाएर स्तब्ध बताउनुभयो । उहाँले आफूलाई पुनर्जीवन दिने सबैलाई पवित्र रेसुङ्गा तपोभूमिको आशीर्वाद प्राप्त होस्भन्दा उपस्थिति कार्यकर्ताको गह भरिएको थियो । दोस्रो जिल्ला सम्मेलनको सन्दर्भमा गुल्मी आएका गुल्मी क्षेत्र नं. १ का सांसदसमेत रहेका नेता भण्डारीले काठमाडौँको घटनादेखि भारतको उपचारसम्मको बारेमा बोल्दै बाँचेर मातृभूमिको स्टेजमा उभिन पाउँदा खुशी ब्यक्त गर्नुभयो । सम्पूर्ण नेपालीको सद्भाव र कामनाको कारण ठुलो दुर्घटनाबाट फेरि भ्रष्टाचार र विपन्नका आवाज बोल्न फर्किन सकेको भण्डारीले बताउनुभयो । आफू उत्साहपूर्ण मतका साथ विजयी भएर गएपछि दुर्घटनाले लामो समय उपचारमा रहन परेको र स्वास्थ ठिक हुँदै गएकाले अब जिल्लाको विकास निर्माणको काममा खटिने प्रतिबद्धता भण्डारीले ब्यक्त गर्नुभयो ।
शनिबार खुलासभा चिदिचौरमा सकिएकाले १० मंसिरमा इन्द्रेणी पार्टी प्यालेसमा बन्दसत्र गर्ने कार्ययोजना रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो । जिल्ला कार्यसमितिको १४ कार्तिकको पूर्ण बैठकको निर्णयअनुसार सम्मेलन आयोजना गरेर व्यवस्थापनको लागि विभिन्न उपसमितिमार्फत काम गरिएको खड्काले बताउनुभयो ।
नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले १० मंसिरको बन्दसत्रमा कांग्रेस गुल्मीका कामहरुको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा बृहत् छलफल हुने बताउनुभयो । उहाँले खुलासभा भव्य उपस्थितिका साथ भएकाले बन्दसत्र पनि ऊर्जापूर्ण रुपमा सकिने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा जिल्लाभरका एक हजार सात सय ४६ क्षेत्रीय प्रतिनिधिले बन्दसत्रमा भाग लिन पाउनेछन् ।