बुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीले मंगलबार ३६औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा समाजले ‘दलित मुक्ति आन्दोलनका उपलब्धि, वर्तमान र आगामी कार्यभार’ विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले नेपाल उत्पीडित जातीय मुक्ति समाजले दलित आन्दोलनको नेतृत्व हाँकेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दलित समुदायका उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गराउन सफल भएको बताउँदै दलित उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा विजयी गराउन सक्नु पार्टीको सफलता भएको उल्लेख गर्नुभयो । तर, दलित समुदायका प्रतिनिधि जिताएर मात्रै मुक्ति समाजको काम नसकिएको उहाँले बताउनुभयो । ‘राष्ट्रिय आवश्यकताका दृष्टिकोणले हेर्ने हो भने हाम्रा लक्ष्य अझै हासिल गरेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘मुक्ति समाजले जातीय विभेदबाट मुक्तिका लागि अझै धेरै काम गर्नुपर्ने छ ।’
एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले नेपाल उत्पीडित जातिय मुक्ति समाजले राखेका उद्देश्यलाई ध्यानमा राखेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आह्वान गर्नुभयो । त्यस्तै, जातीय विभेद र छुवाछुतलाई समग्रमा अन्त्य गर्ने अभियानलाई अघि बढाउन र मुक्ति समाजलाई अझ बलियो बनाउन पनि आग्रह गर्नुभयो । एमालेका केन्द्रीय सल्लाहकार एकराज विश्वकर्माले समाजले ुवाछुत मुक्त राष्ट्रको वकालत गर्दै आएको भन्दै मानवको बाँच्न पाउने भेदभावरहित समाजको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले देशमा भएका जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्नु, राष्ट्रिय नीति निर्माण गर्नु, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गर्नु मुख्य कार्यभार रहेको बताउनुभयो । प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्माले दलित समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग नगरी पार्टीले उचित स्थान दिनुपर्ने बताउनुभयो ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले दलित समुदायमाथि भएको विभेद अन्त्य हुँदै गएको बताउँदै सामाजिक रुपमा पछाडि पारिएका वर्ग क्षेत्रका लागि एमालेले काम गर्ने बताउनुभयो । समाजका केन्द्रीय सदस्य रवि सेन्चुरीले दलित आन्दोलन, समाजले खेलेको भूमिका, नेपालमा दलित समुदायको पछिल्लो अवस्था, अबको बाटोलगायतका विषय समेटेर अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा एमाले नेताहरु चित्रबहादुर कार्की, तेजप्रसाद सेन्चुरी, समाजका जिल्ला अध्यक्ष दिपेन्द्र विश्वकर्मा, उपाध्यक्ष विकास गहतराज सचिव हेमबहादुर बिश्वकर्मालगायतले गणतान्त्रिक मुलकका नागरिक भएर पनि समाजमा जातीय छुवाछुत र विभेद कायमै रहेकाले यसको अन्त्यका लागि सबै जागरुक हुनुपर्ने बताउनुभयो । मुक्ति समाजले समाजिक न्यायका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाएको समाजका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।