बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाएको छ । दुई सिटका लागि हुने निर्वाचनमा महिलाबाट दाङकी तुलसाकुमारी केसी र अन्यमा पाल्पाका झपेन्द्रबहादुर घर्तीलाई उम्मेदवार बनाएको हो । घर्ती एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य हुनुहुन्छ । उहाँ पूर्व पाल्पाको जिल्ला विकास समितिको सभापति पनि हुनुभएको थियो । घर्ती उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ ।
यस्तै केसी अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुनुहुन्छ । एमाले दाङका नेता हुकुम बस्नेतले पार्टीमा लामो समयदेखि काम गर्दै आएकी केसीलाई अगाडि सारेको बताउनुभयो ।
घोराही निवासी केसी महासचिव शंकर पोखरेल निकट हुनुहुन्छ । झर्ती र केसी ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । लुम्बिनीमा २ सीटमा निर्वाचन हुँदैछ । नेकपा एमालेका कुमार दसौँदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते नयाँ सदस्य छान्नका लागि प्रतिस्पर्धा हुन लागेको हो । सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।