बुटवल । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिलेको अवस्थामा मन्त्रीपरिषद हेरफेरको पक्षमा कांग्रेस नरहेको बताउनु भएको छ । उहाले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको समेत बताउनु भयो । नेपाल प्रेस युनियन रुपन्देहिले बुधवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति समेत रहनु भएका गुरुङले अहिले मन्त्री फेर्ने अबस्थामा कांग्रेस र सरकार दुबै नरहेको स्पष्ट पार्नु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताए पनि गुरुङले अहिले त्यस्तो अवस्था नआएको भन्दै चर्चा गरेजस्तो बिषय नभएको बताउनु भयो । त्यसो त प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताउनु भएको थियो। मन्त्री गुरुङले भन्नुभयो, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’
संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउनेगरी आफू क्रियाशील रहेको उहाले बताउनुभयो । सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ ।
हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले बताउनुभयो। पत्रकार सम्मेलन युनियन रुपन्देही अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता र सचिब कपिल ज्ञवालीको संचालनमा भएको थियो ।