बुटवल, माघ २० । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकारका कारण मुलुक अप्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ । प्रेस चौतारी, रूपन्देहीद्वारा आयोजित फूटसल प्रतियोगिताको शनिबार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको राजनीति बिग्रिरहेको बताउनुभयो ।
पौडेलले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अगाडि बढन नसक्ने बताउदै सरकार र सरकारका काम कारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको आरोप लगाउनुभयो ।
‘अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका काम कारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ’ पौडेलले भन्न्ुभयो, ‘यसलाई पुरानै लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौती छ ।’ खेलमा मित्रभाव, समभाव, प्रतिस्प्रर्धा र श्रेष्ठता हुने हुँदा पनि यसबाट राजनीतिक दलले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो ।
नागरिक स्वस्थ्य भएमात्र समाज हुँदै देश विकासमा सहयोग मिल्ने उहाँले बताउनुभयो । अहिलेका युवाहरु खेलकुदसंगै उद्योग, व्यवसाय, रोजगारीका क्षेत्रमा सक्षम हुन जरुरी रहेको उहाँले बताउनुभयो ।