अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गर्नुभएको छ । अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गर्नुभयो । ‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु’, लामिछानेले भन्नुभयो ।
पुराना दलहरुबाट देश परिवर्तन होला भनेर वर्षौंदेखि कुरे पनि उनीहरु भागबन्डा र सेटिङमा लागेकाले जनताले विकल्प खोजेको लामिछानेले बताउनुभयो । अब हुने चुनावमा रास्वपालाई बहुमत दिएमा देशलाई एक नम्बर बनाउने दावी गर्दै उहाँले बनाउन नसके राजनीति नगर्ने बताउनुभयो । अहिलेको सरकार भ्रष्ट र बेथितिको चाङ बोकेको हुँदा पूरै कार्यकालसम्म बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेकाले जुनसुकै बेला हुने चुनावमा बहुमत पाउने गरी पार्टी अघि बढेको लामिछानेको भनाइ छ । ‘हामी ¥याल–सिँगान चुहिन्जेल राजनीति गर्दैनौं, अब एक कार्यकाल एक्लै बहुमतका लागि जनतालाई अपिल गर्छौं, बहुमत पाएर पनि देशमा सुशासन र परिवर्तन दिन नसके राजनीति गर्दैनौं’, लामिछानेले भन्नुभयो, ‘दुई कार्यकाल मात्र राजनीति गर्ने हो ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्घाखाँचीबाट निर्वाचित सांसद तथा एमालेका सचिव टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा रहेका कारण निलम्बित अवस्थामा छन् । लामिछानेले अहिले अर्घाखाँची जनप्रतिनिधिविहीन भएको टिप्पणी गर्दै यो जिल्लाको आवाज पनि आफ्नो पार्टीले संसद्मा उठाउने बताउनुभयो । गएको निर्वाचनमा आफू र आफ्नो दलविरुद्ध सत्ता गठबन्धन नै लागेपनि ५ महिनाको छोटो अवधिमै चौथो शक्ति भएको भन्दै लामिछानेले अबको चुनावमा पहिलो शक्ति बन्ने दोहो¥याउनुभयो ।
लामिछानेले रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन आइतबारदेखि २१ ओटा योजनामा दबाब यात्रा सुरु गरी सरकारलाई ज्ञापनपत्र हैन, समाधानपत्र बुझाउने बताउनुभएको छ । अर्घाखाँची जिल्लाको बाँदर र बँदेलको समस्या सामाधानका लागि आफूहरु नजिक पुगेको भन्दैै त्यसका लागि विज्ञहरुसँग छलफल भइरहेको बताउनुभयो । विकासको मुद्दा कुनै दल विशेषको नभई देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको उहाँले बताउण्नुभयो ।
दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाई गर्ने उहाँको भनाइ छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन÷तीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने सभापति लामिछानेले बताउनुभयो ।
एकपटक आगामी निर्वाचनमा बहुमत मत दिन आग्रह गर्दै लामीछानेले हिजोका निर्वाचमा जस्तै आधा भोट एउटालाई, आधा भोट अर्कोलाई दिनुभयो भने फेरि आधा विकास र आधा भ्रष्टाचार रहने हुने लामिछानेले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य तथा रास्वपा नेत्री सुमना श्रेष्ठले अब हामीहरुलाई नयाँ यथास्थिमा रहन स्वीकार्य छैनभन्दै अब सिंहदरवारका पुराना नेताले देश, जिल्ला र गाउँ बनाउन नसक्ने बताउनुभयो । सासंद श्रेष्ठले भन्नुभयो,‘राजनीतिको परिभाषा वदलिएको छ, राजनीति शक्ति र नालनाताका लागि मात्र हो कि भन्ने भएको छ,अब अर्घाखाँची बनाउनका लागी सबै परिवर्तनकागी एक भएर जाने र अब अर्घाखाँचीको स्वास्थ्य समस्या र विकासका एजेन्डा बोकेर अगाडि बढ्ने छु, हामीहरु अहिले जे पेशामा छौँ,त्यहाँ अब्वल भएर निस्कन जरुरी छ ।’
कार्यक्रमा लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल, केन्द्रीय सदस्य अर्जुन अधिकारी, अर्घाखाँची–काठमाण्डौ सम्र्पक मञ्चका अध्यक्ष सीता पराजुली, एनआर एन विभागका प्रमुख ओम क्षेत्रीलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि भुसालको अध्यक्षता, सन्धिखर्क नगरपालिका संयोजक प्रकाशचन्द्र आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रवि लामिछानेले अर्घाखाँची जिल्लाको सुपादेउराली, अर्घादरबार, मथुराको २० खुटेदरबारलगायतको दर्शन र अवलोकन समेत गर्नुभएको थियो ।