बुटवल । लुम्बिनी प्रदेश स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभा स्थापनालाई एकैदिन मनाउन सुरु गरिएको छ । संघीयता कार्यान्वयन गर्दै जनताको घरदैलोमा सरकार पुगेको अनुभूति गराउनेगरी काम गर्न प्रदेश सरकारले दृढता व्यक्त गरेको छ ।
प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई लुम्बिनी प्रदेश स्थापनाको मान्यता दिँदै सातौं स्थापना दिवस मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले एकैदिन औपचारिक रुपमा स्थापना दिवस मनाएका हुन् । राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोह आयोजना गरेर दिवसलाई संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरु सिक्न सक्ने अवस्थामा पुगेको, अझैं पनि संविधानमा लेखिएका अधिकारहरु प्रदेश तहमा आइनपुगेकाले प्रदेशलाई अधिकार सम्पन्न बनाउनेगरी भूमिका खेल्न आवश्यक रहेको प्रदेश प्रमुख अमिक शेरचनले बताउनुभयो ।
लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । यसवर्ष दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको थियो ।
जसअनुसार आइतबार लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा भव्य समारोहको आयोजना गरिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले भने फागुन ३ सरकार गठन भएको दिनको इतिहास मेटाउनेगरी एकैदिन दिवस गाँभिएको प्रति असन्तुष्टी जनाएको थियो । संघीयताले सबै जातजाति, धर्म संस्कृतिलाई जोड्न सफल भएको बताउँदै अब संघीयताबाटै मुलुकको विकास सम्भव रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो । उहाँले संघीयता भनेकै विविध संस्कृतिबिचको एकता रहेको धारणा राखे ।
संघीयतालाई बलियो बनाउने गरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुनहरु भने पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् । त्यसका लागि प्रदेश सभाले स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम नै सञ्चालन गरेर संघीयतालाई बलियो बनाउने गरी भूमिका खेलेको सभामुख तुलाराम घर्ती मगरले बताउनुभयो ।
पूर्वमुख्यमन्त्री कूलप्रसाद केसीले संघीयतामा नै सबैको अस्तित्व समावेश हुने भएकाले यो नै उत्तम व्यवस्था रहेको बताउनुभयो । संस्थापक प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभाले लोगोसमेत वितरण गरेको छ ।
लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको उपलब्धी संघीयता भएकाले यसको कार्यान्वयनको लागि सबै तह र क्षेत्रबाट प्रभावकारी भूमिका आवश्यक रहेको गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो । थारु, मगर, नेवारलगागत समुदाय बिशेषको झाँकीहरु प्रदर्शन गरिएको थियो । हिउँदे झरीको प्रवाह नगरी अघि बढेको दिवस मूल समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दशवटा मन्त्रायलय तथा प्रदेश सभाले स्टल राखेर भएगरेका प्रगति र उपलब्धीहरु पनि सार्वजनिक गरेका थिए ।
यसैबिच लुम्बिनी प्रदेश सरकारले १२ जना पत्रकारलाई सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै, एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संयुक्त रुपमा सिर्जनशील पत्रकारिता पुरस्कारअन्तर्गत ५० हजार र अग्रज पत्रकारिता पुरस्कारबाट एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार चुमा आचार्य, रामप्रसाद चौहान, तेजेन्द्र केसी, रवीन्द्र प्रताप गुप्ता, भुपाल थापा, अर्जुनकुमार वली, जयमान बुढामगर, माधवप्रसाद अर्याल, वीरेन्द्र केसी, सिराजुद्धीन खान, मधुसुदन भण्डारी पुरस्कृत हुनुभएको छ ।
यस्तै, पत्रकारिता, कला संस्कृतिको संरक्षण, अधिकारको क्षेत्रमा वकालत गर्दै आएका पत्रकार सन्तोष दहित, विमला चौधरी र भगवती पाण्डेलाई पनि पुरस्कृत गरिएको छ ।