बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले समाजवादका आधार निर्माण गर्ने र समाज रुपान्तरणमा सहभागी हुने चुनौतिपूर्ण काममा पार्टी कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ ।
एमाले रूपन्देहीको आयोजनामा तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले पार्टीलाई विधि,पद्घतिबाट चलाउने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने कुरा चुनौतिपूर्ण रहेको तर्फ कार्यकर्ताको ध्यान आकृष्ट गर्दै बिधि र अनुशासन नभई पार्टी चल्न नसक्ने विषयलाई ध्यानपूर्वक अख्तियार गर्न आग्रह गर्नुभयो ।
‘पार्टीभित्र नीतिमा समस्या नरहेकोले बैयक्तिक स्वार्थमा रहेर काम नगर्ने हो भने हाम्रो पार्टीमा समस्या छैन । तर, अरुको तुलनामा हैन हाम्रो आवश्यकताका आधारमा हुन जरुरी छ, पौडेलले भन्नुभयो । संगठनात्मक अराजकता अन्त्य भएको पाइएन । स्वतन्त्रताका नाममा अराजकता हावी हुन लाग्यो ! पार्टीको नीति सही छ, नेतृत्व सक्षम छ, प्रतिस्पर्धामा रहेका दलहरू छेउमा ढिप्किन सक्ने हैसियतमा छैनन् ! तर पनि हामीलाइ के को छिनाझप्टी छ ? को को तँछाडमछाड छ ? के का लागि अस्वस्थ्य प्रतिस्पर्धा गरिएको छ ? पौडेलले प्रश्न गर्नुभयो ।
रुपन्देही पार्टीका लागि चुनौतिपूर्ण र अपरिहार्य कार्यसूचि भित्र सुकुम्वासी र अब्यवस्थित बसोवासीको समस्या समाधान पहिलो नम्वरमा रहेकोले यसतर्फ दृढतापूर्वक कार्यक्रम बनाएर लाग्न तथा युवा पंक्तिलाई एमालेमार्फत्नै युवा समस्याको समाधान हुन्छ भन्ने बिश्वास दिलाएर तदनुसारको काममा लाग्न पौडेलले निर्देशन दिनुभयो । प्रशिक्षणमुलक मन्तब्य राख्दै उपाध्यक्ष पौडेलले भन्न्ुभयो, ‘शिक्षा, स्वास्थ्य र रोजगारीका लागि हामीले के गर्न सक्छौं ? यसवारेमा सरकार बाहिर छँदा पनि योजना बनाउन आवश्यक रहेकोले वैकल्पिक कार्यक्रम बनाउनुपर्यो ।’
सवै तहको पार्टी नेतृत्वले आर्थिक सामाजिक रुपमा देश बदल्ने योजना बनाउन जरुरी रहेकोले वैठक, सम्मेलन, कार्यविभाजन र भाषण गरेर मात्र अब हुदैन, जनतालाई छुने विषयमा कार्यसूचि बनाएर हिँड्न पौडेलको आग्रह छ ।
उपाध्यक्ष पौडेलले सर्वाधिक महत्वपूर्ण कार्यक्रममा अनुपस्थित हुनेलाई जिल्ला कमिटीले यथोचित स्पष्टीकरण लिने काम गरोस् भन्नुभयो । जीवन र जगतको परिभाषा जान्न तथा परिवर्तनको नियम बुझ्न पनि माक्र्सवादी दृष्टिकोणको अध्ययन जरुरी रहेकोले पुस्तक र समाज दुवै पढ्नका लागि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय स्कूल विभागका सचिव घनश्याम कोइराला, स्कूल विभागका सदस्य वाइपी आचार्यले प्रशिक्षण दिनेछन । जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समारोहमा स्वागत स्कुल विभाग प्रमुख युवराज घिमिरेले, सञ्चालन यज्ञ गैरेले गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा जबजको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा कार्यभार बिषयमा प्रमुख प्रशिक्षक पार्टी उपमहासचिव, केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश पार्टी स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन प्रस्तुति सीप शैली र कला, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग लगायतमा प्रशिक्षण दिनुहुनेछ ।