बुटवल । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्तागठबन्धन आबद्ध दलहरूको अदुरदर्शी सोंचका कारण मुलुक संकटमा पर्दै गएको बताउनुभएको छ । सत्तामा टिकिरहने सत्ताकेन्द्रित पूर्वाग्रही राजनीतिमा केन्द्रित रहेको अहिलेको कांग्रेस–माओवादीलगायत दलको गठबन्धनका कारण मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको उहाँको भनाइ छ ।
नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार बुटवलमा आएका महासचिव पोखरेलले अहिलेको गठबन्धन सरकार मुलुकको हित र राष्ट्रिय स्वार्थभन्दा पनि पूर्वाग्रही र सत्ताकेन्द्रित राजनीतिमा केन्द्रित रहेको बताउनुभयो ।
निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसैगरी अन्यौलतामा बितिरहेको उल्लेख गर्दै महासचिव पोखरेलले मुलुकमा अर्को दुर्घटना निम्त्याउने गरी अहिले सत्तारुढ दलहरु अग्रसर रहेको दाबी गर्नुभयो ।
‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, कसरी सरकार टिकाउने भन्नेमै केन्द्रित छ, विकास निर्माणका काम अलपत्र छन्, ऋण दैनानुदिन बढिरहेको छ । जनता गरिबीले छट्पटिएका छन्, युवा विदेश जान बाध्य छन्’ पोखरेलले भन्नुभयो, ‘यस्तो प्रकारको संकटको कारक नै अहिलेको यो सत्तारुढ गठबन्धन हो ।’
राष्ट्रिय उद्देश्यलाई केन्द्रमा राखेर अगाढि बढ्न जरुरी रहेकोमा जोड दिँदै महासचिव पोखरेलले यदि यो बाटोबाट अगाडि बढ्न सकिएन भने मुलुकमा अर्को गम्भीर दुर्घटना निम्तिने खतरा रहेको औल्याउँनुभयो ।
एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गर्दै विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने र देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो ।
आन्दोलन संस्थागत गर्ने बेला कांग्रेसले जहिल्यै धोका दिने गरेको उहाँले आरोप लगाउनुभयो । उहाँले २००७, २०४६ र २०६२÷६३ का जनआन्दोलनबाट प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्ने बेलामा निरन्तर कांग्रेसले ढुलमुले र गलत बाटो समाउने गरेको स्मरण गर्नुभयो ।
नेपाली राजनीतिक क्रान्ति र त्यसपछिका उपलब्धिहरुको संस्थागत गर्न चुक्दा उत्पन्न भएका भूल र परिणामका बारेमा महासचिव पोखरेलले सिलसिलापूर्ण तरिकाले व्याख्या गर्नुभएको थियो । कांग्रेसको प्रवृत्ति सधैँ यथास्थितिवादी रहेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा कांग्रेसले कहिल्यै दूरदर्शिता प्रदर्शन गर्न सकेन ।’
कांग्रेसले आन्दोलनको नेतृत्व गर्दै आएको तर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्रममा सधैं धोका दिने गरेको महासचिव पोखरेलको गुनासो छ । ‘कांग्रेस इमानदार भएर राजनीति गरेको भए पटकपटक आन्दोलन गर्नुपर्ने थिएन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘क्रान्तिका उपलव्धिलाई संस्थागत गर्ने क्रममा भने जहिल्यै कांग्रेसबाट धोका हुने गरेको छ ।’
सत्ता स्वार्थका कारण लोकतन्त्र पूर्णरूपमा संस्थागत हुन नसकेको उहाँको भनाइ छ । यहीँ कारण कहिलेकाहीँ अनेक नामका उट्पट्याङहरु आउने गरेको र केही समय जनतामा भ्रम छर्ने गरेको उहाँको भनाइ थियो । दुर्गा प्रसार्इंजस्ता नेताले बेलाबखत पार्टीलाई प्रभावित पार्ने गरेको र यस्तो प्रवृत्ति भएकाहरु सबैजसो पार्टीमा बेलाबेलामा जन्मने गरेको उनको टिप्पणी थियो । उहाँले थप्नुभयो ,‘यस्ता खालका नेतालाई जनताले विस्तारै पाखा लगाउँदै जान्छन् ।’ यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उहाँले बताउनुभयो । कलात्मक हिसाबले पार्टीमा आउँछन् र धोका दिएर जाने हुँदा आगामी दिनमा यस्ता अराजक नेताप्रति बेलैमाथि सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘कुराभन्दा काम गर्ने वेला आएको छ । जनताले कामको मूल्यांकन गर्छन्’, उहाँले भन्नुभयो, ‘जनताको माग र आवश्यकताको आधारमा काम गर्न सक्नुपर्छ ।’ जितको ठाउँको रक्षा गर्ने र नयाँ स्थानीय तहमा आगामी निर्वाचनमा जित हासिल गर्ने गरी पार्टीका गतिविधि प्रभावकारी ढंगले सञ्चालन गर्न महासचिव पोखरेलले बताउनुभयो ।
नेकपा एमालेको नेतृत्व बनेका स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्ने उहाँले बताउनुभयो । अन्य दलले भन्दा फरक काम गर्नुपर्छ । जनताको हितमा काम गरिनुपर्छ । जनजीविकासँग जोडेर कार्यक्रम सञ्चालन गर्न उहाँले सुझाउनुभयो । सम्बन्धित विज्ञसँग छलफल गरी स्थानीय तहमा नमुना काम गर्नुपर्छ । जनताले महसुस गर्ने गरी विकास निर्माणका काम हुनुपर्छ । त्यसले पार्टीको जनआधार दरिलो बन्ने उहाँले बताउनुभयो ।
‘पार्टी बनाउन हिजो जसरी काम गरिएको थियो आज पनि त्यसैगरी सबै कार्यकर्ता सक्रिय हुनुपर्दछ, सबै कार्यकर्ताको जोडले पार्टी बलियो हुन्छ, त्यो स्थानीय तहमा मात्र होइन केन्द्रमा पनि बुझाइमा समस्या छ अब सुधार्नुपर्छ’, पोखरेलले भन्नुभयो ।