बुटवल । रुपन्देहीको बुटवलमा कपडा (क्लोथ) बैंक सञ्चालनमा आएको छ । शनिबार बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी क्लोथ बैंकको उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, महानायक राजेश हमाल, कलाकार दिनेश डिसीले उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुखी र विपन्न वर्गहरुलाई न्यानो प्रदान गर्न सकिने बताउनुभयो । उहाँले बुटवल उपमहानगरपालिका सबै नागरिकहरु प्रति सचेत भएको बताउंदै क्लोथ बैंक सञ्चालन पछि विपन्न र गरिव वर्गका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस परोपकारि कार्यमा जोडीन यस क्षेत्रमा रहेका सम्पूर्ण संघसंस्था साथै नगरबासी सबैलाई अनुरोध समेत गर्नुभयो ।
त्यस्तै नगर उपप्रमुख अर्यालले मानवताको सेवामा सर्मपीत यस्ता सामाजिक काम गर्दा राजनीतिक स्वार्थभन्दा माथी रहेर गर्नुपर्ने बताउनुभयो । विपन्न र गरिव वर्गको हितका लागि उपमहानगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उहाँले यसलाई निरन्तरता दिन उपमहानगरले आफ्नो जिम्वेवारी पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपालबिच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौता पछि शनिबार औपचारिक रुपमा बुटवलमा क्लोथ बैक सञ्चालनमा आएको हो । बुटवल नगरका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाई पुनः प्रशोधन रि–साइकल गरि आवश्यकताका आधारमा वितरण गरिनेछ ।
कार्यक्रममा महानायक राजेश हमालले समाज परिर्वतनका लागि युवा समुहरुले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु संलग्न हुन पाउँदा खुसी लागेको बताउनुभयो । कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरुलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफुलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सवैलाई आग्रह गर्नुभयो ।
क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक सुभारम्भ भएको बताउनुभयो । ‘मानव सेवाको लागि पुरानो कपडालाई पुनः प्रयोग’ भन्ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन समेत उहाँले आग्रह गर्नुभयो ।
बुटवलका विभिन्न स्थानमा कपडा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने अध्यक्ष जि.सीले बताउनुभयो । ‘कपडा बैंक गरीबले लैजाने र धनीले दिने केन्द्र मात्र होइन,’ उहाँले भन्नुभयो, ‘जो कोही आवश्यकता भएकाले लैजाने र आवश्यकता भन्दा केही बढि भएकाले दिने मात्रै हो ।’
अध्यक्ष जि.सीले आगामी दुई वर्षमा कपडा विहीनमुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो । उहाँका अनुसार अहिले सम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएका छन् । कार्यक्रममा सफल सञ्चारकर्मी एवं बरिष्ठ कलाकार दिनेश डिसीले परोपकारी कार्य सधै मानव विकासका लागि हुने भन्दै उक्त कार्यक्रमा जोडिन सबै नगरबासीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा क्लोथ एण्ड फूड बैंक नेपालका सल्लाहकार गोपाल सिवाकोटी, बालब्यास कथाबाचक श्रवण न्यौपाने, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल, क्लोथ एण्ड फूड बैंक नेपालका लुम्बिनी प्रदेश टिम मेम्बर राजिब गौतम, लगायतले बोल्दै यो अभियानलाई सार्थक बनाउन सबैले हातेमालो गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
क्लोथ बैंकमा आफ्नो घरमा भएका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निःशुल्क लिन सक्नेछन् । कार्यक्रममा बिभिन्न जिल्ला र पालिकाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन आविस्कार खनालले गर्नुभएको थियो ।