काठमाडौं । सत्तमा रहेका नेताहरुले आफू अनुकुलका योजनामा बजेट थुपार्ने प्रवृत्ति बढिरहेको सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षबाट तीन करोडभन्दा कम लागतका साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ ।
शनिबार बिहान सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभएको हो ।
बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न नसकिंने बताउँदै प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्ने बताउनुभयो । तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्ने उहाँको भनाइ छ । आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइने उहाँले जनाउनुभयो ।
आगामी आर्थिक वर्षको बजेटमा नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी योजनालाई निरन्तरता दिइने प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो।