काठमाडौं, फागुन १२ । प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधयेक, २०८० पेश हुँदै छ । यो विधयेकमा विरोधको सूचना दर्ता भएकोले बैठकमा विधयेक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यसपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधयेक, २०८० प्रस्तुत गर्ने आइतबारको सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आइतबारको बैठक प्रतिनिधि सभा, २०७९ को तेस्रो अधिवेशनको बैठक संख्या ६ हो ।
राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधयेकमा के छ ?
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ एक महिनापछि फिर्ता लिइएको थियो । २०७८ भदौ २ गते प्रमाणीकरण भएको उक्त अध्यादेश नेकपा एमालेमा असन्तुष्ट माधवकुमार नेपाल नेतृत्वका नेताहरुलाई निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउने प्रयोजनको लागि ल्याइएको थियो । यो अध्यादेशका कारण नेकपा एमाले पार्टीबाट अलग भएर नेपाल नेतृत्वको समूहले नेकपा (समाजवादी) पार्टी निर्माण गरेको हो ।
उक्त अध्यादेशले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा रहेको दल त्यागसम्बन्धी व्यवस्थालाई परिवर्तन गरेको थियो । अध्यादेशमा दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटाको २० प्रतिशत सदस्यको समर्थनमा नयाँ दल गठन गरेको मान्न सकिने व्यवस्था राखिएको थियो । तर त्यसअघिको मूल ऐनमा केन्द्रीय समिति र सङ्घीय संसद्को संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा उनीहरू सम्मिलित भई नयाँ दल गठन गरेमा उनीहरूले दल त्याग गरेको नमानिने उल्लेख गरिएको छ ।
मूलतः नेकपा एमालेमा फुट गराउने अभिप्रायले ल्याइएको अध्यादेश त्यो पूरा भएपछि तत्कालीन नेतृत्वले फिर्ता गरेको थियो । अध्यादेश सक्रिय रहेको भए सोही व्यवस्था अनुसार राजनीतिक गठबन्धन परिवर्तन हुन सक्थ्यो । त्यहीँ डरले तत्कालीन सरकारले सो अध्यादेश फिर्ता गरेको थियो ।
त्यो बेलामा सत्ता गठबन्धन अहिले पनि यथावत् छ । तर, अध्यादेशका प्रावधान हटाएर पुरानैं व्यवस्था कायम गराउन यो संसोधन विधयेक ल्याइएको हो । कुनै पनि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य आवश्यक पर्ने व्यवस्था यो विधयेकमा गरिएको छ ।