बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान गठबन्धन सरकार पूर्ण रूपमा असफल भएको बताउनुभएको छ । पौडेलले अहिलेको सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प हुनुका साथै विकासका महत्वपूर्ण कामहरूसमेत रोकिएको दावी गर्नुभयो ।
आइतबार बुटवलको नहरपुर माविको नवनिर्मित भवनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले जनताको समृद्धिको चाहना रोक्ने सरकारका गलत कामका विरूद्ध पार्टीले सदन र सडकबाट खवरदारीको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो ।
‘सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मुख भएका छन्,’ पौडेलले भन्नुभयो, ‘राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो नै छैन । चालू भएका आयोजना बजेट काटेको छ । थप कुनै योजना, आयोजना छैनन् यो सरकारले मुलुकलाई असफलताको दिशातिर धकेलेको छ । अब सरकारको असफलता प्रमुख प्रतिपक्ष दलले हेरेर बस्दैन । सदन र सडकबाट दह्रो खबरदारी गर्छ ।’ यस क्षेत्रमा चालू अवस्थामा रहेका विकासका आयोजनाहरुको बजेट सरकारले काटदा धेरै योजनाहरु अलपत्र परेको पौडेलले बताउनुभयो । सुरु भएका शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका आयोजनाको बजेट काटिएको छ । अब खबरदारी गर्नुपर्ने अवस्था आयो ।’
बुटवलमा विकासका ठूला पूर्वाधार बनिसकेकोले अब आफ्नो ध्यान मानवीय विकासतर्फ केन्द्रित हुने पौडेलको भनाइ छ । ‘रूपन्देहीमा विकासका काम करिब करिब सकिएका जस्तो लाग्छ,’ पौडेलले भन्नुभयो ‘झुम्साखोला खानेपानीको काम अब आउने चरणमा छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलासुस्ती भएको छ । यसलाई खवरदारी गर्नु छ । बुटवल–चन्द्रौटा अब बन्ने सडक समयमा सम्पन्न होस् भन्ने हाम्रो चाहना हो । यो अन्य आयोजनाहरु सम्पन्न हुने चरणमा छन् । अब रुपन्देही विकासमा अब्बल बनेको छ । हाम्रो ध्यान अब मानवीय विकासमा केन्द्रित हुन्छ ।’
रुपन्देही पूर्वाधार विकासँगै शिक्षाको हब बनेको समेत उहाँलेृ बताउनुभयो । केही समय अघिसम्म ओझेलमा परेका यहाँ सामुदायिक विद्यालय राष्ट्रमै प्रथम, द्वितीय र तृतीय हुँदै अब्बल बनेको बताउँदै अब भौतिक पूर्वाधार विकासमा कुनै कमी हुन नदिने पौडेलको भनाइ छ । ‘यहाँका कालिका, कान्ति, शान्ति, नवीव, सैनामैनाका विद्यालय केही समयसम्म ओझेलमा थिए,’ पौडेलले भन्नुभयो, ‘अहिले यी विद्यालय देशकै विद्यार्थी संख्या, भौतिक पूर्वाधार र नतिजामा पहिलो दोस्रो र तेस्रो र चौथोसम्म पुगे । यहीँ ठाउँमा अब नहरपुर मावि पनि पुग्दैछ । रुपन्देहीमा विकाससँग शैक्षिक सुधारमा आमूल परिवर्तन आएको छ ।’
यस क्षेत्रका विकासमा तिनै तहका जनप्रतिनिधिहरु मिलेर काम गर्ने नेता पौडेलको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, नेपालका लागि भारतीय राजदुत नवीव कुमार श्रीवास्तव, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, विद्यालयका प्राधानाध्यापक धनिश्वर गौतम, बुटवल उपमहानगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।