बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको परीक्षा लिने भएको छ । चैत ५ गते हुने परीक्षामा प्रदेशभरका ८६ हजार २ सय ५० जना नेता/कार्यकर्ताहरू सहभागी हुनेछन् ।
बिहीबारर बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धाण हुने र त्यसै अनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी दिनुभयो ।
‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ,’ अर्यालले भन्नुभयो, ‘लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं।’ उहाँले पार्टीलाई सांगठिनकरूपमा बोलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिनुपर्ने समेत बताउनुभयो ।
परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने समेत उहाँले बताउनुभयो । जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ ।
प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सबै वडा तहमा यसको तयारी भएको र त्यसले पार्टीलाई नै ऊर्जा थप्ने विश्वास लिएको बताउनुभयो ।
प्रचार विभाग प्रमुख डिआर घिमिरेले अहिले १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुने जानकारी दिए ।