बुटवल । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सहिद यादवनाथ आलोकको पुर्णकदको शालिक अनावरणका लागि रुपन्देही आएका सभापती देउवाले आफुले २ बर्ष अघि शुभारम्भ गरेको बिमानस्थल नचलेपछि यस्तो प्रतिवद्धता जनाउनुभएको हो । सभापती देउवा प्रधानमन्त्री रहेको बेला ०७९ जेठ २ गते यो विमानस्थल शुभारम्भ गर्नुभएको थियो ।
तर यो बिमानस्थल अहिलेसम्म पूर्णरूपमा संचालन हुनसकेको छैन। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का सभापति सुशील गुरुङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा संचालनका लागि पहल गर्न देउवालाई आग्रह गर्नुभएको थियो ।
विमानस्थल निमार्णका लागि सरकारले करिब ३१ अर्ब लगानी गरेको छ भने निजी क्षेत्रले यसलाई आधार बनाएर सोही अनुपातमा लगानी गरेपनि विमानस्थल संचालन नभएकोले निराशा हुनुपरेको बताइरहेका छन्।
बुधबारको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभापति अमर पुन, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु भरत कुमार शाह, अब्दुल रज्जाक लगायतले देउवालाई प्रदेश र रूपन्देहीको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
देउवाले अहिलेको समयमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने र जनताका बीचमा जाने बताउनुभयो । सभापति देउवा आज दिनभर रूपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।