बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा सरकारलाई पूर्णता दिने तयारीमा जुट्नुभएको छ। उहाँले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
प्रमुख सत्ता साझेदार नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले पाँच जना मन्त्रीको नाम मुख्यमन्त्री महरालाई दिइसक्नुभएको छ । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकार जाने भएको छ ।
अर्घाखाँचीका आचार्यले अर्थ मन्त्रालय पाउने बताइएको छ । रूपन्देहीका भूमिश्वर ढकाललाई शहरी विकास मन्त्री, गुल्मीका दिनेश पन्थी गृह, कपिलवस्तुका अर्जुनकुमार केसीलाई वन र बाँकेका रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने मोटामोटी सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै यसअघि नैं मन्त्री भइसक्नुभएका नेकपा माओवादीका दिपेन्द्र पुनलाई स्वास्थ्य, माओवादीबाटै बाँकेकी कृष्ण केसीलाई सिचाईं ऊर्जा तथा खानेपानी, पश्चिम नवलपरासीका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई उद्योग पर्यटन तथा सहकारी मन्त्रालय पाउने बताइएको छ ।
त्यस्तै बाँकेका जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र बर्दियाका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय पाउने बताइएको छ ।
नेकपा एकीकृत समाजवादी र जसपालाई थप एक मन्त्रालय फुटाएर भए पनि भागबण्डा पुर्याउने मुख्यमन्त्रीको तयारी छ । लुम्बिनीमा अहिले दश मन्त्रालय छन् । नयाँ मन्त्रीको बिहीबार साँझ सपथ ग्रहणको तयारी गरीएको छ ।