बुटवल । एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो ।
पार्टीले महासचिव शंकर पोख्रेल निकट मानिने आचार्यलाई मुख्यमन्त्री बनाउन अचानक निर्देशन दिएको हो। एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गर्नुभयो । ‘पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको छ,’ उहाँले भन्नुभयो, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’
संसदीय दलका नेता लिला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिनुहुन्छ । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्नुका पछाडि केन्द्रको चासो र निर्देशनले काम गरेको निकटस्थ नेताहरुले बताए ।
कांग्रेस एमाले गठबन्धनकै समझदारी लागू हुने भएकाले आचार्यलाई स्वतः बहुमत मिल्ने छ ।
तीन पटक मन्त्री बनिसक्नु भएका आचार्य अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य हुनुभएको हो । उहाँ यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, एमालेकै लिला गिरी नेतृत्वको सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्री बन्नुभएको थियो ।
यस्तै, माओवादी नेता जोखबहादुर महराको नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहनुभएका आचार्य लुम्बिनीका छैटौँ मुख्यमन्त्री बन्नुहुनेछ । लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको गुटका कारण सरकार र दल गठनमा प्रभाव पर्ने गरेको छ।