बुटवल । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
कुर्मी आबद्ध पार्टी नेपाली कांग्रेसलाई नागरिक समाजबाट तत्काल बर्खास्त गर्न दबाब बढेपछि कुर्मीले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा दिनुभएको हो । राजीनामा अझै स्वीकृत भने भएको छैन ।
बाँके क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित कुर्मी राजनीतिक पहुँचको आधारमा कारबाहीबाट जोगिँदै आएर मन्त्रीसमेत बन्नुभएको थियो । उता महिला अधिकारकर्मीहरुले मन्त्री कुर्मीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौं अधिकारकर्मी रुबी खानले आन्दोलन जारी राख्नुभएको छ ।
निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप मन्त्री कुर्मीमाथि छ । उहाँ विगतमा संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कुर्मी लुम्बिनीको एमाले कांग्रेस मिलेर बनेको चेतनारायण आचार्यको नेतृत्वको सरकारमा दोस्रो वरियतामा हुनुहुन्थ्यो ।