बुटवल–प्रदेश ५ को प्रदेश सभामा गरिएका खर्चमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।
प्रदेश सभा सचिवालयले गाडी मर्मत र अन्य रकम खर्च गर्दा मनपरी गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
प्रदेश सभा सचिवालयले गाडी मर्मतमा ६० लाख रुपैयाँभन्दा बढी रकम र प्रदेश सभाका सचिव दुर्लभकुमार पुन र लेखा अधिकृत आलोक अग्रहरीले कानुनविपरीत घरभाडावापतको रकम लिदै आएको भन्दै संसदकै सार्वजनिक लेखा समितिले पनि छानबीन गरिरहेको छ।
प्रदेशसभाका ३२ वटा सवारी साधन मर्मतमा २३ महिनामा ६३ लाख खर्च भएको हिसाब देखाइएको छ। गाडी किनेको दुई वर्ष पनि नबित्दै गाडी मर्मतमा यति ठूलो रकम खर्च देखाएपछि अनियमितता भएको आशंकामा प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबीन गरिरहेको छानबीन समितिका संयोजक वैजनाथ कलवारले बताए।
उनका अनुसार लेखा समितिले सवारी साधन मर्मतसम्बन्धी बिलको नम्बर, खर्च भएको मिति, मर्मत गरेको ग्यारेजको नामसहित विस्तृत फाइल मगाएर छानविन गरिरहेको छ। प्रारम्भिक अध्ययनअनुसार प्रदेश सभा सचिवालयका कर्मचारी, गाडी चालक र गाडी मर्मत गर्ने वर्कसपको मिलेमतोमा अनियमितता भएको देखिएको उनले बताए।
प्रदेश सभाले आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ६१ लाख रुपैयाँमा ११ वटा जीप, एउटा स्कर्पियो गाडी, एउटा कार, चारवटा मोटरसाइकल र तीन वटा स्कुटर किनेको थियो।
किनिएका गाडी सभामुख, उपसभामुख, प्रदेश सभाका सातवटा समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक, प्रदेश सभा सचिव र उपसचिवलाई सुविधा वापत दिइएको छ।
एउटा गाडीमा बजार मूल्यभन्दा ३ लाख ३९ हजार ९९९ रुपैयासम्म बढी रकम तिरेको पाइएपछि लेखा समितिले ३७ लाख ३९ हजार ९८९ रुपैयाँ फिर्ता गराएको थियो।