भैरहवा-सहकारी अपचलनको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बसोबासका बारेमा विवादित धारणाहरु सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ।
रुपन्देहीको भैरहवास्थित कारागारमा गत चैत २२ गतेदेखि थुनामा रहेका रवि लामिछानेलाई राखिएको कारागारको कोठाको अवस्था र लामिछानेलाई दिइएको सुविधाका सम्बन्धमा दुई प्रकारका समाचारहरु सार्वजनिक भएका थिए।
नयाँ पत्रिका दैनिकले रवि लामिछानेलाई सामान्य सुविधा पनि नदिएको भन्दै समाचार प्रकाशित गरेको थियो भने अन्नपूर्ण पोष्ट दैनिकले लामिछानेलाई भीआइपी सुविधा दिएको भन्दै समाचार प्रकाशित गरेको थियो।
नयाँ पत्रिकामा प्रकाशित समाचारको लिंक
कारागारमा यसरी राखिएको छ रविलाई, यही अँध्यारो कोठामा चार महिनादेखि छन् रवि
अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारको लिंक
रवि लामिछानेलाई जेलमा भीआइपी सुविधा, एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्
यी समाचार प्रकाशित भएपछि राजनीतिक वृत्तमा रविमाथि सरकारले प्रतिसोधको भावना देखाएको भन्दै आलोचना भएको थियो। यहीबीचमा सोमबार राष्ट्रिय मानव अधिकार आयोगको टोली लामीछानेलाई राखिएको कारगारको ब्लक नम्बर ४ को निरीक्षण गरेको छ।
सोमबार आयोगकी आयुक्त लिली थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितले कारागार निरीक्षण गरेका थिए । उनीहरूले कारागारमा रहेका रविसँग समेत कुराकानी गरेका थिए।
टोलीका सदस्यहरूका अनुसार कुराकानीमा लामिछानेले सबैभन्दा बढी अड्डासारको बिषयमा चासो राखेका थिए । उनी भैरहवा कारागारबाट सरेर काठमाडौं उपत्यका जान चाहन्छन्। लामिछानेले अदालतले अड्डासारका निम्ति अनुमति दिएपनि कारागार प्रशासनले त्यसमा बेवास्ता गरेको बिषय उठाएका थिए ।
आयुक्त थापाले काराागारभित्र शौचालयको अवस्था नाजुक रहेको पाइएको बताइन्। उनका अनुसार रवि रहेको कोठामा रेडियो छ, तर पत्रपत्रिकाको भने सुविधा छैन।
कारागार पुगेर अनुगमन गरेर फर्केपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयुक्त थापाले लामिछाने राखिएको कोठामा दुईवटा पंखा राखिएको बताइन् ।
लामिछाने रहेको कोठामा एसी जडान गरिएको बिषय सार्वजनिक भएपनि अनुगमन टोलीले भने त्यस्तो नरहेको बताएको छ । आयुक्त थापाले लामिछाने रहेको ब्लकमा एसी जडान नगरिएको बताइन्।
आयुक्त थापाले लामिछानेलाई सय दिनसम्म बन्दी कक्षबाट बाहिर हिडडुल गर्न नदिएर मानवअधिकारको हनन् गरिएको बताइन् ।
उनले कारागार व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै झ्याल थुनेको बिषय पनि उठाइन् । लामिछानेले स्वच्छ हावामा हिडडुल गर्न नपाएको भन्दै उनले न्युनतम मानव अधिकार पनि हनन गरिएको बताइन् ।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको बताइन् । कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको उल्लेख गरिन् ।
‘एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ । झ्यालहरू चाहिँ खोलिएको छैन । नजिकै घरहरू भएको र सर्पदंशको डर भएकाले झ्यालहरू बन्द गरिएको प्रशासनले बताएको छ । तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्न भन्यौ । उहाँहरूले स्विकार्नुभएको छ,’ उनले भनिन् ।