आज २०८२ माघ ११ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम लुम्बिनी टाइम्स डटकमको नियमित प्रस्तुति नेपाल दिनभरमा प्रस्तुत गरेका छौँ ।
आज दिनभर राष्ट्रिय सभा निर्वाचनको चर्चा रह्यो। प्रतिनिधि सभा निर्वाचनबारे केही उम्मेदवारहरु चर्चामा रहे भने एमाले र प्रलोपाबीच चुनाबी तालमेलको विषय आजको मूख्य समाचारमै रह्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसका लागि गरेको आह्वान अस्वीकार गरेको विषय आजको अर्को चर्चाको विषय बन्यो।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार सम्पन्न मतदानमा कांग्रेस–एमाले गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोसी प्रदेशबाट तीनैजना सदस्यहरूको टुंगो लागेको छ।
आइतबार भएको निर्वाचनबाट नेकपा (एमाले) का सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
महिला कोटातर्फ एमालेकी रोशनी मेचे सात हजार १७३ मतभार प्राप्त गरी विजयी भइन्। उनले निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार नमिता न्यौपानेलाई पराजित गरिन्। न्यौपनेले दुई हजार २६८ मतभार प्राप्त गरिन्।
मेचेको पक्षमा प्रदेश सभाका ६४ र स्थानीय तहका १९९ जनाले मतदान गरेका थिए भने न्यौपानेको पक्षमा प्रदेश सभाका २२ र स्थानीय तहका ५८ जनाले मतदान गरे।
दलित कोटातर्फ एमालेकै सोम पोर्तेल सात हजार ४२३ मतभारसहित निर्वाचित भए। उनले नेकपाका उम्मेदवार खेम सुन्दासलाई पराजित गरे। सुन्दासले दुई हजार १३७ मतभार प्राप्त गरे। पोर्तेलको पक्षमा प्रदेश सभाका ६८ र स्थानीय तहका २०१ जनप्रतिनिधिले मतदान गरेका थिए।
कुल ३५९ मतदाता रहेको कोसीमा ३४५ जनाले मात्र मतदान गरे। प्रदेश सभाका ९२ मध्ये ८७ र स्थानीय तहका २६७ मध्ये २५८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान नगर्ने १४ जनामा पाँच प्रदेश सांसद र नौजना स्थानीय पालिकाका पदाधिकारी छन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा गठबन्धनका चारैजना उम्मेदवार निर्वाचित भएका छन्।
आइतबार विभिन्न चार समूहका लागि भएको मतदानमा अन्यतर्फ जनता समाजवादी पार्टी (नेपाल) का संरक्षक महन्थ ठाकुर, महिलातर्फ नेकपा एमालेकी रेखा झा, दलितमा नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र अपाङ्गता भएका/अल्पसंख्यक समूहतर्फका कांग्रेसकै रन्जित कर्ण निर्वाचित भए।
जसपा नेपालका नेता ठाकुरले सात हजार ७२५ मतभार प्राप्त गरेर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लक्ष्मण पौडेलले एक हजार ८०५ अंकभार प्राप्त गरे।
महिलातर्फ एमालेकी झाले सात हजार २२२ मतभार ल्याएर निर्वाचित भइन् भने निकटम प्रतिस्पर्धी नेकपाकी शमीकुमारी अग्रवालले एक हजार ९४४ र जसपा नेपालकी चन्द्रकलादेवी साहले ३२२ मतभार प्राप्त गरिन्।
अपाङ्गता/अल्पसंख्यक समूहमा कांग्रेसका कर्णले आठ हजार ९३ मतभार प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ र जसपा नेपालका शैलेशकुमार चौधरीले २७७ मतभार पाए।
दलिततर्फ कांग्रेसका पासवान सात हजार ९०४ मतभार पाएर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपाका शम्भु पासवान हजाराले एक हजार ३७६ मतभार प्राप्त गरे। यस्तै जसपा नेपालकी चमेलीदेवी दासले २०९ मतभार प्राप्त गरिन्। जसपा नेपालले अन्यबाहेक तीन उम्मेदवारलाई निस्क्रिय गरेको थियो।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् ।
महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मत सहित निर्वाचन जितेकी हुन् । उनले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मत पाइन । झाले प्रदेश सभा तर्फ २५ र स्थानीय तह तर्फ ६३ मत पाइन । सोही पदमा उम्मेदवार बनेकी नेमकिपाकी कविता महर्जनले १९७ मत पाइन । उनले प्रदेश सभा तर्फ ३ र स्थानीय तह तर्फ २ मत पाइन् ।
प्रदेश सभा तर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तह तर्फ २२९ मत मध्ये २२६ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो ।
अन्य क्लस्टरमा उम्मेदवार बनेका डा. देवकोटाले ६ हजार २०५ मत सहित निर्वाचन जितेका हुन् । उनले प्रदेश सभा तर्फ ५९ मत र स्थानीय तह तर्फ १६२ मत पाएका थिए ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत पाए । उनले प्रदेश सभातर्फ २५ र स्थानीय तह तर्फ ६४ मत पाए । नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मत पाए ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट दुवै पदमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य समूहमा नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको फराकिलो अन्तरले पराजित गरे ।
तिमिल्सिनाले ५ हजार ३३ मतभार पाउँदा लामाले ९ सय ४१ मतभार पाएका छन् । जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाए । तिमिल्सिनाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३१ मत (२ हजार ४ सय ८९ मतभार) पाएका हुन् ।
महिला समूहमा नेकपा (एमाले) की उम्मेदवार देवकोटाले ५ हजार १४ मतभार पाएकी छिन् । उनकी निकटतम प्रतिश्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार पाइन् । तेस्रो भएकी जनमोर्चाकी लक्ष्मी वास्कोटाको ७६ मतभार मात्रै छ । देवकोटाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३० मत (२ हजार ४ सय ७० मतभार) पाएकी हुन् ।
अन्यमा २ जना प्रदेश सांसद र १ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ भने महिलामा २ जना प्रदेश सांसद र २ जना स्थानीय तह जनप्रतिनिधिको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गण्डकीमा २ सय २८ मतदाता थिए । ५९ सांसद र १६९ स्थानीय तहका जनप्रतिनिधिमध्ये प्रदेशतर्फ राप्रपाका २ सांसदले बहिष्कार गरेका छन् ।
यस्तै, स्थानीय तहतर्फ वालिङकी उपमेयर कविता तिवारी, ढोरपाटनका मेयर देवकुमार नेपाली र मनाङको नार्पाभूमिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले मतदान नगरेका हुन् ।
नेपाली सहकारी ठगी मुद्दामा जेलमा छन् । राप्रपाका पन्चराम गुरुङ र विन्दु पौडेलले चुनावमा भाग लिएनन् ।
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ एमालेकी रामकुमारी झाँक्री‚ अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन्।
महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी भइन्। उनकी निकटम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरे।
यसैगरी अन्यतर्फ कांग्रेसका केसी पाँच हजार ९७७ मतभारसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपाका बृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गरे। यस्तै राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाए। यस्तै अपाङ्ग/अल्पसङ्ख्यकतर्फ कांग्रेसका घिमिरेले ६ हजार ३२२ मतभारसहित विजयी भए। उनका प्रतिस्पर्धी नेकपाका सर्जन विकले एक हजार ६०१ मतभार पाए।
निर्वाचनमा प्रदेशसभातर्फ ७८ र स्थानीयतहतर्फ २०८ मत खसेको थियो। जसमा प्रदेशसभातर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो। जम्मा प्रदेशसभातर्फ ८३ मतमा पाँचजना र स्थानीय तहतर्फ २१७ मतदातामध्ये नौजना अनुपस्थित रहे।
कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भएकी हुन् ।
नेकपाका दुवै उम्मेदवार पराजित भए । आइतबार बिहानदेखि सुरु भएको मतदानमा ९६.४६ मत खसेको थियो । उनका अनुसार, कुल १९८ मतदाता सङ्ख्यामध्ये १९१ मत खसेको छ ।
प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन् । स्थानीय तहतर्फ १५८ मतदाता सङ्ख्यामध्ये १५२ मत मात्रै खसेको थियो । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।
खसेको मतमध्ये एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी छिन् । यस्तै कांग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।
यस्तै पराजित भएका नेकपाका उम्मेदवार महिलातर्फ अन्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् भने बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरे । खसेको कुल मतमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आज (आइतबार) सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लीलाकुमारी भण्डारी विजयी भएका छन्। अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन्।
कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।
यस्तै महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार पाइन्। कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी २२० मतदाता मतदानमा सहभागी भए।
एमाले र प्रलोपाबिच चुनावमा तालमेल
नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बिच आसन्न प्रतिनिधि सभा निर्वाचनमा केही स्थानमा तालमेल हुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बिच केही क्षेत्रमा तालमेल गर्ने सहमति भएको छ ।
आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘वादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष दुर्गा सोवबिच तालमेल गर्ने सहमति भएको हो ।
सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा मतदान गर्नेछ ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले)का उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा मतदान गर्नेछ ।
‘दुवै पार्टीहरूले उपरोक्त सहमति कार्यान्वयन गर्न आ–आफ्नो आन्तरिक पङ्क्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति भएको छ’, थापा र सोवले गरेको सहमति पत्रमा भनिएको छ ।
नेपाली बजारमा सुनको भाउमा नयाँ कीर्तिमान कायम
नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको भाउ तोलामा २ हजार ४ सयले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो ।
गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । शुक्रबार एकैदिन तोलामा ९ हजार २ सय बढेको थियो ।
त्यसैगरी चाँदीको भाउले पनि आज नयाँ कीर्तिमान कायम गरेको छ । आज चाँदी तो्लाको ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तुलनामा २ सय ९० बढेको हो । त्यसदिन तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो ।
प्रधानमन्त्रीको उम्मेदवारबीच सार्वजनिक बहसका लागि ओलीको आह्वानमा बालेनको जबाफ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसका लागि गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले जबाफ दिएका छन्।
ओलीले आइतबार बिहान सार्वजनिक बहसको आह्वान गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए।
स्ट्याटसमा कमेन्ट गर्दै बालेनले बहसमा सहभागी नहुने बताएका हुन्।
'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो! तपाईंहरूले आफै २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? त्योपछि अरू कुरा गरौंला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,' उनले ओलीलाई दिएको जबाफमा भनेका छन्।
राष्ट्रिय झन्डाको प्रयोग कानुनबमोजिम गर्नू : गृहमन्त्रालय
ह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’