काठमाडौं : मंसिर १४ मा हुने उपचुनावका लागि आज स्थानीय तहतर्फ उम्मेदवारी दर्ता हुँदैछ। सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन्। उम्मेदवारको सूची आजै प्रकाशन गरिने छ। भोलि उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।
उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न प्रदान गरिने छ। स्थानीय तह अन्तर्गत धरान उपमहानगरपालिकामा मेयर, फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष, पिपरा गाउँपालिका अध्यक्ष र खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
त्यस्तै, ३७ जिल्लाका ४३ वडा अध्यक्षको पनि निर्वाचन हुँदैछ। प्रतिनिधी सभा र प्रदेश सभाका चार पदका लागि भने यस अघि नै उम्मेदवारी दर्तालगायत सकिएको छ। चार पदका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा छन्।