बुटवल-संसदीय विधि र पद्धति विपरित जबरजस्ती प्रदेश ५ को राजधानी सार्न खोजिएको भन्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन्। प्रदेश ५ काे राजधानी सार्ने प्रस्तावप्रति असन्तुष्टि जनाउँदै सांसद श्रेष्ठले संयोजक पदबाट राजीनामा दिएका हुन्।
श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको भन्दै तीब्र असन्तुष्टि जनाउँदै आएका छन्। श्रेष्ठकै नेतृत्वमा नेकपा संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ जना प्रदेशसभा सांसदले नोट अफ डिसेन्ट लेखेका थिए।
सांसद श्रेष्ठले सभामुखलाई बुझाएको राजीनामा पत्रमा लेखेका छन्-आकस्मिक रुपमा हठात् प्रदेशको नामाकरण र राजधानीको केन्द्र सार्ने प्रदेश सरकारको निर्णय प्रस्ताव पश्चात उत्पन्न गतिरोधका बेला प्रदेशसभाभित्र पक्ष र विपक्षको रुपमा उपस्थित घटनाक्रमसँग केही पत्रपत्रिकाबाट गरिमामय सभापतिको मर्यादाबाट विचलित भएको परिवेशले कुप्रचारको रुपमा मर्यादा उपर गहिरो चोट पुगेकाले राजधानी केन्द्र निर्धारणसँग साटेको आवाज जनतामा भ्रम छर्न खोजेको आभाष गर्दै स्वच्छ स्वाभिमानबाट काम गर्न असहज महशुस भएकोले उक्त समितिबाट राजीनामा पेश गर्दछु।’