पोखरा । सरकारका प्रवक्ता, सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशभक्तिको बिषयमा सरकारको बोली नफेरिने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो’ भन्ने अभिव्यक्ति दिएपछि जवाफमा बाँस्कोटाले देशभक्ति, राष्ट्रियताका पक्षमा सरकारको बोली नलर्बने बताए।
‘श्रीमान् शेरबहादुर देउवाजीलाई स्रपष्ट भन्न चाहन्छु, हाम्रो बोली लर्बरिन्न,’ आइतबार पोखरामा पत्रकारहरूसँगको कुराकानीमा बाँस्कोटाले भने, ‘नाकाबन्दीका बेला एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले ठूल्ठूलो ढाडे बनेर चुनाव आयो भन्दैमा कुर्लेर हुन्छ?’
देउवाले त्यस्तो अभिव्यक्ति दिएको आफूलाई विश्वास नलागेको पनि उनले बताए। ‘प्रमुख प्रतिपक्षी दलजस्तो जिम्मेवार दलका नेताले त्यस्तो आरोप लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन,’ उनले भने, ‘यदी आरोप नै लगाउनुभएको हो भने गम्भीर प्रश्न उठ्छ। टनकपुर सन्धि हामीले बिर्सेका छैनौं।’
अहिले देउवाले किन यस्तो अभिव्यक्ति दिएको भन्नेमा अर्थ लुकेको उनले बताए।
‘म बुझ्छु उहाँले किन पोखरामा आएर यस्तो आरोप लगाउनुभयो। किनभने यहाँ १४ गते चुनाव छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले बोलाएको सर्वदलिय बैठकमा उहाँ (देउवा) ले खासै विमती राख्नुभएको थिएन। अनि अहिले कहाँबाट यस्तो आरोप लगाउनुभयो ?’
यसो भनेका थिए देउवाले
भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो: देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन्।
भारतले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा विरोध भइराखेको छ। सरकारले सीमा मिचिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने निर्णय गरिसकेको छ।
तर देउवाले ओलीसँग सल्लाह गरेरै भारतले नक्सा जारी गरेको दाबी गरेका छन्। पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको पनि बताए।
‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ। ओली राष्ट्रवादी पनि होइन।’
भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप देउवाले लगाए।
‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो। ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन,’ देउवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानी पनि आधा हक लाग्छ।’
ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ। ‘यिनीहरू राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन्,’ उनले भने, ‘जनताका आँखामा छारो हानेका छन्।’