भारत विहारको विधानसभाका लागि २४३ सीटमा भएको चुनावको मतगणना सम्पन्न भएको छ । राष्ट्रिय जनतान्त्तिक गठबन्धन (राजग) ले १२५ र महागठबन्धले ११० सीट हात पारेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार गठबन्धनमा सहभागी भारतीय जनता पार्टी ७४, जनता दल युनाइटेड ४३, विकाशसील इन्सार पार्टी ४ र हिन्दुस्थानी अवाम मोर्चाले ४ सीट जितेका छन् ।
त्यस्तै महागठबन्धनमा रहेका राष्ट्रिय जनता दल ७५, भारतीय काँग्रेस १९, भारतीय कम्युनिस्ट पार्टी माले १२, भारतीय कम्युनिस्ट र माक्र्सवादी कम्युनिस्ट पार्टीले दुई–दुई सीट जितेका छन् ।
विहारको चुनावमा पहिलो चोटी गठबन्धनमा भाजपाले जनता दल युनाईटेडभन्दा बढी सीट ल्याएको छ । भाजपाले बढी सीट ल्याएपनि शुरुको प्रतिवद्धताअनुसार अहिलेलाई नीतिशकुमारलाई बिहारको मुख्यमन्त्री बनाउने निश्चित छ । विहारको चुनावमा असदुद्दीन ओबीसीको पार्टी एआइएमआइएमले पाँचवटा सीट जितेको छ ।
रामविलास पासवानको पार्टीले एक सीट मात्र हात पार्न सफल भएको छ । चुनावकै समयमा रामविलास पासवानको निधन भएको थियो । उनको निधनपछि उनका छोरा चिराग पासवानले पार्टीलाई सम्हालेका छन् ।
त्यसैगरी मायावती नेतृत्वको बसपा पार्टीले पनि एक सीटमा चित्त बुझाएको छ । तर जानकारका अनुसार यसपटको चुनावमा नीतिशकुमारको पार्टी राजयुले त्यति राम्रो प्रदेर्शन गर्न सकेन । सन् २०१५ मा जुन अवस्था राजयुको थियो, त्यो यसपटक देखिएन ।
को हुन् नीतिशकुमार ?
सन् १९७७ मा आफ्नो राजनीति यात्रा शुरु गरेका नीतिशकुमार छोटो समयमा आफ्नो पकड बनाउन सफल भएका छन् । उनलाई भारतको भावी प्रधानमन्त्रीको रुपमा पनि विश्लेषण गर्न शुरु गरिएको थियो ।
६९ वर्षीय नीतिशकुमारले विहार कलेज अफ इन्जिनियरिङबाट बीटेकको अध्ययन गरेका छन् । उनी पटनाभन्दा ३५ किलोमिटर टाढा रहेको बख्तियारपुरका वासिन्दा हुन् ।
नीतिशकुमारका बुवा भारतका स्वतन्त्र सेनानी थिए । श्रीमती मन्जु सिन्हा शिक्षिका थिइन् । उनको निधन भइसकेको छ । नीतिशकुमारका एकमात्र छोरा छन् । उनी इन्जिनियर हुन् ।
उनले सबैभन्दा पहिले सन् २००० मार्च ३ मा मुख्यमन्त्रीको सपथ लिएका थिए तर बहुमतको अभावमा उनी सात दिन पनि मुख्यमन्त्री पदमा रहन सकेनन् । त्यसपछि उनी सन् २००५ मा मुख्यमन्त्री बने । तेस्रोपटक सन् २०१० मा मुख्यमन्त्री बनेका थिए ।
उनले २०१४ मा मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए तर २२ फेब्रुअरी २०१५ मा उनी पुनः मुख्यमन्त्री बने । २० नोभेम्बर २०१५ मा उनले पाँचौपटक मुख्यमन्त्री पदको सपथ लिए ।
त्यसपछि २०१७ मा छैटौपटक मुख्यमन्त्री पदको सपथ लिएका नीतिशकुमार सातौपटक मुख्यमन्त्रीको पदमा सपथ लिन गइरहेका छन् ।