चितवन-चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा गुटको राजनीति गरेको भन्दै होहल्ला र नाराबाजी भएको छ।
नेकपा राप्ती नगरकमिटीले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला र नाराबाजी भएको हो।
नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका १५/२० जनाको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए।
राप्ती नगरकमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोका अनुसार सुरेन्द्र पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउनासाथ होहल्ला भएको थियो। जसका कारण कार्यक्रम स्थगित गर्नुपर्यो।
नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेकाविरुद्ध प्रदर्शन गरेको बताएका थिए।
उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पुर्याएका थिए।