काठमाडौँ-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुधबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली अनुपस्थित भएपछि केही बेर छलफल भएर मंसिर २० गते दिउसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ । पार्टीमा देखिएको विवाद समाधानको लागि प्रधानमन्त्रीसहित छलफल गर्न उपयुक्त हुन्छ भन्ने निष्कर्षका साथ आजको बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए। यसैगरी मंसिर १८ गतेका लागि बोलाइएको स्थायी कमिटीको बैठक २१ गतेका लागि सारीएको छ ।यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेकाे लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ । दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा दुइपक्षाबीच विवाद छ ।