काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सचिवालय बैठकमा उत्पन्न विवाद मिलाउने प्रयास हुने बताइएको छ।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेका प्रस्तावमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वयका प्रतावमाथि छलफल नभएपछि दुवै प्रस्ताव स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरिएको थियो।
बैठडकमा अध्यक्ष ओलीले भने अर्का अध्यक्ष प्रचण्डको प्रस्तावमाथि छलफल योग्य नै नभएको भन्दै फिर्ता लिनुपर्ने धारणा राखेका थिए। सचिवालयका अन्य सदस्यको जोडबलमा अध्यक्षहरुको प्रस्ताव छलफलका लागि स्थायी कमिटीमा लैजान लागिएको हो।
अब दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गरी बहुमतका आधारमा पारित गरिने भएको छ।
नेकपामा पहिलो पटक बहुमत र अल्पमतको अभ्यास हुन थालेको हो। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा महाधिवेशनअघि सबै निर्णयहरु सहमतिका आधारमा गर्ने सहमति भए पनि पार्टीमा चरम विवाद बढ्दै गएपछि बहुमत र अल्पमतको अध्यास सुरु भएको हो।