भैरहवा- राजतन्त्र पुर्नस्थापना सहित संघीयता खारेजीको माग गर्दै विहिवार भैरहवामा प्रदर्शन भएको छ। राष्ट्रिय नागरिक आन्दोलन २०७७ र सम्पूर्ण देशभक्त नागरिक समाज रुपन्देहीको आह्वानमा प्रदर्शन भएको हो।
पृथ्वीनारायण शाहको तस्वीर र राष्ट्रिय झण्डा सहित भएको प्रदर्शनमा सहभागीहरुले सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना गरी धर्म निरपेक्षता खारेज गर, हिन्दु राष्ट्र कायम गर, गणतन्त्र खारेज गर, संघीयता खारेज गर, हिमाल पहाड तराई कोही छैन पराई लगायतका नारा लगाएका थिए।
भैरहवाको लुम्बिनी गेटमा भेला भई सुरु भएको प्रदर्शन बुद्धचोक, देवकोटा चोक मिलन चोक नारायण पथ हुदै पुनः लुम्बिनी गेटमा पुगी सभामा परिणत भएको थियो। प्रदर्शनका संयोजक रवि कुमार रौनियारले हिन्दु राष्ट्र सहितको राजतन्त्र र २०४७ सालको संविधान पुनस्र्थापनाका लागी दवाब सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको बताए।
सभामा राष्ट्रबादी युवा अभियान्ता डा. मनोज झा, भोला देवान, डा. सुरेन्द्र भण्डारी, रंजन खनाल, भिमराज अधिकारी, प्रकाश चित्रकार, बलराम शर्मा गोपाल शर्मा लगायतले देश जटिल अवस्थामा रहेको र पहिचान खोसिएको छ भन्दै राष्ट्रलाई बचाउनका लागि अब राजासहितको हिन्दु राष्ट्रको विकल्प नभएकोमा जोड दिएका थिए।
पछिल्लो केही दिनदेखि राजावादीहरुले हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै देशभर प्रदर्शन गर्दै आइरहेका छन् ।