बुटवल-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल चलाउने साँचो अन्यत्रै रहेको बताएका छन्।
शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरुलाई खुशी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्ध जनतालाई सचेत गराउनु पर्ने उनले बताए।
गण्तन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा, संघीयता र भ्रष्टाचारको बिरोधमा बिहीबार बुटवलमा आयोजित सभामा बोल्दै अध्यक्ष केसीले दक्षिण तिरबाट नेपालको भूगोलमाथि आक्रमण भैरहेको दावी गरे।
उनले नेपाली जनताले लामो समयसम्म बलिदानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गरेको आरोप लगाए ।
उनले सत्तापक्ष र प्रतिपक्षबाटै प्रतिगमनको खतरा रहेकोसमेत बताए। छिमेकीले नेपालमा हिन्दुराज्य कायम गराउन खाज्दा पनि सत्तापक्ष र प्रतिपक्ष मौन रहेकाले सत्ता पक्ष र प्रतिपक्षबाट पनि प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीकाने तर्क छ ।
लुम्बिनी प्रदेश सांसद तारा जीसीले संघीय संरचना देशले धान्न नसक्ने बताउंदै अर्काको भर गरेर ऋणमा संघीयता टिकाउन नसकने बताइन् ।
नेपाल कम्युनिष्ट पार्टीका मसालका रुपन्देही प्रवक्ता नारायण जीसीले संघीयताले दशेको अवस्था कठिन मोडमा पुगेको बताउँदै राष्ट्रियता, सावैभौमिकता र एकता खलबलिएको बताए।
राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला सदस्य नेत्र आचार्यले गणतन्त्रको रक्षा गर्दै जनवादी क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताउंदै गाणतन्त्र र धर्म निरपेक्षताको संरक्षणमा राष्ट्रवादी शक्ति मिल्नु पर्नेमा जोड दिए।
जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता, रुकबहादुर पराजुलीको स्वागत र सचिव टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।