हेटाैडा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरुको आन्दोलनका लागि बर्तमान सरकार नै जिम्मेवार रहेको बताएका छन्। सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै रबैयाको कारण सडकमा राजा आउ देश बचाउ भन्ने नारा लागेको बताए। देउवाले ओली नै कतै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे । उनले भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’
सरकारको गलत गतिविधिका कारण जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको देउवाको भनाइ थियो । आफूहरु बाध्य भएर सडकमा आएको भन्दै देउवाले कम्युनिष्टहरु एक भएपछि आफूले बोल्न, हाँस्न र रुन पनि पाइँदैन भनेको अहिले ओली सरकारले ठीक त्यही गरेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कोरोनाको जोखिम रहेको बेला यसरी जनता भेला गर्ने, दुःख दिन नचाहेको तर बाध्य भएर विरोधसभा गरेको भन्दै क्षमा मागे ।