काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरू प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेकोले तत्काल आन्दोलनमा जानुपर्ने निचोडमा पुगेका छन्।
बिहीबार अनामनगरमा पौडेलले आफू पक्षका केन्द्रीय सदस्य भेला गरी आजको केन्द्रीय समिति बैठकमा आन्दोलनका प्रस्ताव पेश गर्ने निष्कर्ष निकालेका हुन्। पौडेल पक्षमा कांग्रेसका २७ जना केन्द्रीय सदस्य छन्। तर आजको भेलामा केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेल पनि सहभागी रहेका थिए।
प्रधानमन्त्री ओलीको कदमविरूद्धमा सभापति शेरबहादुर देउवा तत्काल आन्दोलनमा जाने मनस्थितिमा नदेखिएकोले दबाब दिन पौडेल पक्षले भेला गरेको हो।
प्रधानमन्त्रीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको ठहर कांग्रेसले गरिसकेको छ। तर आन्दोलनका कार्यक्रम ल्याइसकेको छैन।
प्रधानमन्त्रीको कदमविरूद्ध पार्टी नेतृत्वबाट वक्तब्य निकाल्नेबाहेक अरू काम नदेखिएको भन्दै भेलाका सहभागी केन्द्रीय सदस्यले आन्दोलनमा जान ढिला गर्न नहुने बताएका थिए।
बुधबार केन्द्रीय समिति बैठकमा ओली सरकारका कदमबारे आन्दोलनमा गइहाल्ने कि सर्वोच्चको आदेश पर्खने भन्नेमा नेताहरूको मत बाझिएको थियो।
उक्त बैठकमा केन्द्रीय सदस्य गगन थापाले आन्दोलनमा जान पार्टीले खुट्टा कमाउन नहुने र कुनै पनि अलमल गर्न नहुने बताएका थिए।