काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा चुनाव लड्न आउन भनेका छन् । ‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु,’ उनले भने । आफूसँग तनहुँमा प्रतिस्पर्धा गर्न आउन पनि पौडेलले प्रधानमन्त्री ओलीलाई ‘निम्तो’ दिएका छन् ।
योहो टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिने क्रममाः प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिनुको कारण तनहुँमा निर्वाचन हार्ने भएको भनेका थिए । साथै प्रधानमन्त्री ओलीले नेता पौडेल क्रान्तिकारी देखिन खोजेको र अब कांग्रेस महाधिवेशनबाट सभापति बन्न पनि सुझाव दिएका थिए । नेता पौडेलले आज केन्द्रीय कार्यसमितिमा बैठकपछि पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री ओलीलाई तनहुँमा चुनाव लड्न आउन पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए । उक्त कदम असंवैधानिक भएको भन्दै कांग्रेसले पुस १३ मा देशैभर आन्दोलन गर्दैछ । प्रधानमन्त्री ओली र पौडेलबीच पछिल्लो समय सम्बन्ध राम्रो छैन । तनहुँमा पुल उद्घाटन गर्न जाँदा नेकपा कार्यकर्ताले अवरोध गरेको पौडेलले बताएका थिए ।
तनहुँमा ओलीनिकट कृष्णकुमार श्रेष्ठ किसानले पौडेललाई गत चुनावमा हराएका थिए । पुल उद्घाटनमा नेकपाले अवरोध गरेपछि पौडेलले ओलीलाई आफू आस्थाका लागि जेल बसेको तर ओली व्यक्ति हत्यामा जेल बसेको आरोप लगाएका थिए ।