काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्।
शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि उक्त समूहका नेता-कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर गएका थिए। अहिले अरू प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन्। आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्नेछन्।
अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन्। उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्। प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ।
प्रदर्शनमा सहभागीहरूले ’प्रतिनिधि सभा विघटन खारेज गर’, ’संवैधानिक कू मान्दैनौं’जस्ता नारा लगाएका छन्। प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए।